
काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा प्रेमिल अनि मेलोडियस गीत सृजना गर्न खप्पिस सर्जक हुन् शम्भु नेपाल। लामो समयदेखि नेपाली संगीतमा सक्रिय नेपालका शब्दहरूमा एउटा छुट्टै मौलिकता र मिठास पाइन्छ। यसैबीच, उनको नयाँ गीत “ए ठुली” बजारमा सार्वजनिक भएको छ।

शुक्रबार सार्वजनिक गरिएको यस गीतमा शम्भु नेपालको मनछुने शब्द रहेका छन् भने सन्तोष बिसीले उत्कृष्ट संगीत भरेका छन्। संगीत प्रेमीहरूका बीच छुट्टै पहिचान बनाएका नारायण दंगालले यस गीतको संगीत संयोजन (एरेन्ज) गरेका हुन्। गीतमा पछिल्लो समयकी लोकप्रिय गायिका प्रतिमा अर्याल र गायक अर्जुन गहतराजको सुमधुर आवाज सुन्न सकिन्छ।

गीतको अडियो जति बलियो छ, भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। भिडियोको निर्देशन गायक स्वयम् अर्जुन गहतराजले गरेका छन्। जसमा अर्जुन र मोडल आयुष्मा कार्कीको मुख्य भूमिका रहेको छ। अर्जुन र आयुष्माको केमेस्ट्री र अभिनयले भिडियोलाई जीवन्त तुल्याएको छ।


महेश महराले छायांकन गरेको यस भिडियोलाई मीन रावलले सम्पादन तथा रङ संयोजन (कलर ग्रेडिङ) गरेका हुन्। गीतको अडियो रेकर्डिङ शंकर स्टुडियोमा सागर पुनले गरेका हुन् भने कुमार सानु पुनले मिक्सिङ र मास्टरिङको जिम्मेवारी निभाएका छन्। ‘अर्जुन गहतराज अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस गीतले छोटो समयमै युट्युब र सामाजिक सञ्जाल (विशेषगरी टिकटक) मा निकै राम्रो प्रतिक्रिया बटुलिरहेको छ।
हेर्नुहोस् भिडियो:


