एमाले नेतृत्व चयनः प्राविधिक समस्यापछि आज बिहान ८ बजेदेखि मतदान हुँदै

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान हुनुपर्ने भए पनि एक दिन सारिएको हो ।

मङ्गलवार साँझ मतदाताहरू मतदानको प्रतीक्षामा लाइनमा बसेका थिए । तर राति ८ बजे आज मतदान नहुने जानकारी दिँदै उनीहरूलाई फर्काइएको थियो ।

बिज्ञापन

निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रीति फन्ट मिश्रित रूपमा प्रयोग भएको कारण समस्या देखिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण गरी रुजु गर्न समय लागेकाले आयोगको निर्देशनअनुसार मतदान बुधबारका लागि सारिएको उनले स्पष्ट पारे ।

नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।