
काठमाडौं उपत्यकामा हिँड्दा हिँड्दै मोबाइल, पर्स जस्ता सामान लुटपाट गर्ने गिरोहका तीनजना प्रहरी नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा उदयपुर जिल्लाको मुकुर्ची घर भइ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ४ बस्ने वर्ष २० को अमृत तामाङ, रामेछापको फुलासी घर भएका वर्ष २६ को सागर घिसिङ र सुनसरीको इनरुवा नगरपालिका २ का वर्ष ४५ को पशुपति प्रजापति रहेका छन्।


प्रहरीका अनुसार काठमाडौंका विभिन्न स्थानहरूमा दिउँसो तथा रातिको समयमा धारिलो हतियार (चक्कु) समेत देखाई लुटपाट गर्ने कार्यमा संलग्न उनीहरूबाट लुटपाट कार्यमा प्रयोग गरिएको बा ६५ प २४१२ नम्बरको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका उपर चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
पक्राउ परेकाहरूबाट बा ६५ प २४१२ नम्बरको पल्सर मोटरसाइकल, विभिन्न कम्पनीका मोबाइलहरू थान – ३२, सुनको जस्तो देखिने सिक्री थान – १ (१२.२५० ग्राम), नगद रु. ६ हजार ४९५बरामद भएको छ।
अनुसन्धानका क्रममा उनीहरू ज्याठा रोडमा पैदलयात्री महिलाको सिक्री लुटी फरार भएको, सरस्वती क्याम्पस अगाडी पैदलयात्री पुरुष व्यक्तिको सामसुङ कम्पनीको मोबाइल थान – १ र नगद रु ४,००० (चार हजार रुपैयाँ) लुटी फरार भएको, पक्नाजोल स्थित सडक खण्डमा पैदलयात्री पुरुष व्यक्तिको आईफोन १६ प्रो म्याक्स मोबाइल लुटी फरार भएको, सोह्रखुट्टे नजिकै पैदलयात्री व्यक्तिको रियलमी कम्पनीको मोबाइल र पर्स सहित नगद रु ७,००० (सात हजार रुपैयाँ), नबिल बैंकको एटीएम कार्ड , एनआईसी एसिया बैंकको एटीएम कार्ड लुटी फरार भएको पाइएको छ।


