



बनेपा । बनेपा नगरपालिकाले नगर क्षेत्रभित्रका किसानका सम्पूर्ण बीमायोग्य पशुहरूका लागि निःशुल्क पशु बीमा कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको छ। यो कार्यक्रम आ.व. २०८२/०८३ का लागि पनि स्वीकृत भई युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीसँग सम्झौता सम्पन्न भएको बनेपा नगरपालिका पशु सेवा शाखाले जानकारी दिएको छ।


गत आ.व. २०८०/०८१ मा नगरपालिकाले पशु बीमा प्रिमियमको किसानले तिर्नुपर्ने २० प्रतिशत रकमसमेत नगरपालिकाले व्यहोरेको थियो। साथै प्रत्येक किसानका लागि वार्षिक एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा व्यवस्था गरिएको छ, जसका लागि किसानले वर्षमा रु. २०० मात्र तिर्नुपर्छ।

गत आर्थिक वर्षमा बनेपा नगरपालिकामा करिब १० हजारभन्दा बढी पशुको बीमा गरिएको थियो। तीमध्ये क्षति पुगेका २२८ वटा पशुका किसानहरूले एक करोड १२ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति प्राप्त गरिसकेका छन्। बाँकी क्षतिको बीमा दाबी प्रक्रिया पनि नियमानुसार अघि बढाइने पशु सेवा शाखाले जनाएको छ।
नगरपालिकाले पशु बीमा प्रक्रियामा प्राविधिकलाई प्राप्त हुने बीमा कमिसनसमेत नगरपालिकाको राजश्व खातामा जम्मा गर्ने व्यवस्था गरेको छ। यसले नगरपालिकामा आर्थिक पारदर्शिता बढ्नुका साथै भार पनि कम हुने भएको छ। चालु वर्षमा मात्र करिब १४ लाख रुपैयाँ कमिसन राजश्व खातामा दाखिला भएको र बीमाका लागि ४९ लाख रुपैयाँ बीमा कम्पनीलाई भुक्तानी गरिएको शाखाले बताए।
नगरपालिकाको यो कार्यक्रमले किसानहरूलाई पशु क्षति हुँदा हुने आर्थिक भार कम गर्न ठूलो सहयोग पुर्याएको छ। यस कार्यलाई महालेखा परीक्षकको कार्यालयले समेत प्रशंसा गरेको छ भने देशभरका अन्य स्थानीय तहहरूले समेत बनेपाको यो नमुना कार्यक्रमको अनुसरण गर्न थालेका छन्।