
९ मङ्सिर (२०८२), काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले)ले आज सर्वोच्च अदालतमा रिट दायर गरेको छ। पार्टीका तर्फबाट विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।


प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आज एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।


रिट निवेदनमा प्रधानमन्त्री कार्कीको शपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदरको माग गरिएको छ।प्रतिनिधिसभाको सदस्य नभएको,सर्वोच्च अदालतको प्रधान न्यायाधीश भइसकेको व्यक्ति,कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको,धारा ७६ तथा धारा १३२ (२) विपरित गैर संवैधानिक तवरले नियुक्त भएका प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको हुँदा निजको प्रधानमन्त्री पदमा भएको नियुक्तिविरुद्ध अधिकार पृच्छाको आदेश माग गरिएको छ।

२०८२ भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्नुभएको थियोे । नेकपा (एमाले)ले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै विरोध गर्दै आएको छ।


