कहिले आउला त्यो दिन, जब नेपाल साँच्चै “नेपाल” बन्नेछ ? जहाँ बुद्धको उपदेश शासन प्रणालीको नैतिक मेरुदण्ड होस्, सत्यको मार्ग सार्वजनिक जीवनको दिशासूचक बनोस्, र शिवको मौनता जस्तै हाम्रो सामाजिक संरचनामा शान्ति, गहिराइ र आत्मसंयमको चेतना प्रवाहित होस् । यस्तो नेपालको कल्पना, आजको विखण्डित, उथलपुथल र असन्तुलित नेपाली समाजमा एक रहस्यमय सपना जस्तो लाग्न सक्छ तर यही सपना भविष्यको सम्भावनाको बिउ पनि बन्न सक्छ यदि यसलाई समयमै चेतनाको जमिनमा रोप्न सक्यौं भने ।

नेपाल एउटा यस्तो भूमि हो, जहाँ गहिरो आध्यात्मिक जरा छन् बुद्धको करुणा, शिवको योग, वेद–उपनिषद्का सूत्रहरू, गीताका ज्ञान तर के ती दर्शन आज हाम्रो व्यवहार र नीति निर्माणमा जीवित छन् रु बुद्धको देशमा हिंसा, शिवको देशमा अधैर्यता, वेद(गीता बोल्ने समाजमा विभाजन र विद्वेषको राजनीति हुनु केवल विरोधाभास मात्र होइन, चेतनाको पतनको सूचक पनि हो ।

लुम्बिनी केवल धार्मिक पर्यटकीय स्थल होइन, त्यो सन्देशको थलो हो जहाँ जन्मिएको शिशुले सम्पूर्ण मानवता शिक्षित गर्न सक्ने दर्शन दिएको थियो । आज बुद्धको मूर्ति राष्ट्रका कुनाकाप्चामा भेटिन्छ, तर करुणा, समभाव र मध्यम मार्गको चेतना हाम्रो राज्य सञ्चालन, शिक्षातन्त्र र सामाजिक सम्बन्धबाट हराउँदै गइरहेको छ । हाम्रो कानुन न्यायको शुद्ध उपकरण बन्नुपर्नेमा शक्तिको चाकरी गर्ने यन्त्र बनेको छ । हाम्रो शिक्षाले ज्ञान दिन्छ, तर विवेक दिँदैनस डिग्री दिन्छ, तर मूल्य–मान्यता दिँदैन ।

यदि बुद्ध नेपालमा पुनर्जन्म लिन्थे भने, सायद उनी फेरि पनि गृहत्याग गर्थे तर यसपटक पिपलको बोटमुनि होइन, संसद्, सडक र सामाजिक सञ्जालबाट सत्यको खोजीमा निस्कन्थे ।

शिव मौन छन्—तर त्यो मौनता पलायन होइन, चिन्तनको चरम हो । आजको नेपालमा हामी सबै बोलिरहेका छौं, चिच्याइरहेका छौं, तर सुन्ने कोही छैन । सबैले अभिव्यक्ति खोजिरहेका छन्, तर आत्मसंवाद हराएको छ । आध्यात्मिक मौनताको सट्टा सामाजिक कोलाहलबाहेक हामीसँग बाँकी केही छैन ।

शिवको मौनता आत्मज्ञानको प्रतीक थियो हामीले त्यसलाई बुझ्न नसकेर केवल जटा, त्रिशूल र भाङगका सांकेतिक बाह्यरूपमा सीमित गरिदिएका छौं। हाम्रो समाजमा जबसम्म मौनता ुसन्देशु बन्न सक्दैन, तबसम्म संवादको संस्कृति निर्माण हुँदैन । र जब संवाद हराउँछ, तब समाज आ(आफ्नै खोलभित्र बन्द हुन्छ–जसको परिणाम होस् सामाजिक द्वन्द्व, राजनैतिक कटुता र सांस्कृतिक असहिष्णुता ।

कवि, रवी र शशिको नामले केवल सांकेतिक कुरा गरिँदैन यी मानवीय संवेदनाको आधार हुन् । कविता समाजको आत्मा हो, संगीत हृदयको लय हो, र शशिको शीतलता समाजको सन्तुलन हो। जब यी तत्त्वहरू हाम्रो जीवनबाट विस्थापित हुन्छन्, तब देशले विकास त गर्छ, तर संवेदनाहीन हुन्छस शक्तिशाली त देखिन्छ, तर गहिराइहीन हुन्छ ।

आज हामी विकासको होडमा छौं, तर सौन्दर्यको चेतनाविनाको विकास पतनको अर्को रूप हो । पक्कि संरचनाहरू बढिरहेका छन्, तर मानिसको मन भत्किँदै गएको छ । कविता गुमेको समाज कठोर हुन्छस संगीत गुमेको समाज क्रूर हुन्छस र शीतलता गुमेको समाज असहिष्णु हुन्छ । नेपालको पुनरुत्थान त्यही दिन सुरु हुन्छ, जब हामीले सिर्जनालाई शक्ति ठान्न थाल्छौं ।

हामी बारम्बार “वीर गोर्खाली”को गर्व गर्छौं । हो, ती इतिहासका अटल अभिलेख हुन्—जसले पृथ्वीको कुनाकाप्चासम्म नेपालीको साहसको झण्डा गाडेका छन् । तर आज वीरता खुकुरी नचाउन सक्ने हात मात्र होइन, सत्यको पक्षमा बोल्न सक्ने जिब्रो पनि हो, भ्रष्टाचारको विरुद्ध उभिन सक्ने आत्मबल हो र अनुचितलाई बहिष्कार गर्न सक्ने विवेक पनि ।

साँच्चिकै वीर गोर्खाली त्यो हो, जो काँचो तामाको जयकार होइन, सत्य, सहिष्णुता र न्यायको आवाजमा उभिन्छ । नेपाललाई आज युद्ध होइन, विवेक चाहिएको छस रणभूमि होइन, संवाद चाहिएको छ ।

यो नेपाल केवल कल्पनामा सीमित हुनुपर्दैन यदि यसले यस्तो कार्यको खाका दिन सक्यो भने जहाँ शिक्षा प्रणाली मूल्यमा आधारित होस्, धर्म विवेकमा आधारित होस्, राजनीति सेवामा केन्द्रित होस्, र समाज संवादमुखी होस् । जहाँ विकास केवल इँटा–सिमेन्टमा होइन, मानवीय चेतनामा होस् । यस्तो राष्ट्रनिर्माण जहाँ केवल सरकार मात्र जिम्मेवारी नभएर, सम्पूर्ण नागरिक चेतनाको साझा प्रयत्न होस् ।

नेपाल साँच्चै नेपाल तब बन्छ, जब हामी सबैले “नेपाल कस्तो होस् रु” भन्ने प्रश्नलाई “म कस्तो बनूँरु” भन्ने आत्मप्रश्नमा रूपान्तरण गर्छौं । यो देश केवल भौगोलिक एकाइ होइन, मानवीय मूल्यहरूको संगम हो—जहाँ बुद्धको उपदेशले हृदय उज्यालो पारोस्, शिवको मौनताले आत्मा चोख्याओस्, कविता र संगीतले भावना सिञ्चित गरून्, र वीरता केवल युद्धको स्मृति नभई न्यायको प्रतिक बनोस् ।

त्यो दिन नेपाल केवल “हुनुपर्ने देश” होइन, “भइसकेको उदाहरण” बन्नेछ । एक यस्तो राष्ट्र, जसले विश्वलाई देखाउनेछ कि सत्य, मौनता, सौन्दर्य र साहसको सहयात्रा कस्तो हुँदोरहेछ । –email: [email protected]