जेठसम्म पालिका अधिवेशन सक्दै एमाले, सदस्य १० लाख

|| सोमबार, चैत्र ०५, २०८०
जेठसम्म पालिका अधिवेशन सक्दै एमाले, सदस्य १० लाख

बनेपा, साढे पाँच लाख हाराहारी पार्टी सदस्य रहेको नेकपा एमालेले आगामी ११ औँ महाधिवेशनसम्म १० लाख पार्टी सदस्य बनाउने योजना अघि सारेको छ । अबको ३ वर्षमा साढे चार लाख पार्टी सदस्य सङ्ख्या बढाउने गरी सदस्यता वितरण र नवीकरण गर्न एमालेले पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।
सदस्यता बढाउन भनिएपनि सदस्यता नवीकरण गर्दा कसैले एकमुष्ट शुल्क लेबी तिरिदिने, सदस्यहरूको सूचीमा हेराफेरी गर्ने लगायतका अनुचित तरिका गरेको पाइए कारबाही गर्ने चेतावनी समेत दिएको छ । त्यसका लागि एमालेले सातै प्रदेश र ७७ वटै जिल्लामा पार्टी सदस्यता नवीकरण, विस्तार र स्थानीय अधिवेशनहरू सुव्यवस्थित ढङ्गले समयमै गर्न परिपत्र जारी गरेको छ ।
महासचिव शङ्कर पोखरेलले हस्ताक्षर गरेर फागुन २८ गते सातै प्रदेश र जिल्ला कमिटीहरूलाई पठाएको परिपत्रमा फागुन–चैतमा गरिने नियमित सदस्यता नवीकरणबारे पार्टीपंक्ति अझै अभ्यस्त नभइसकेको भन्दै तोकिएको प्रक्रिया पुरा गरी तोकिएको समयभित्र सदस्यता नवीकरण गर्न र योग्यता पुगेकाहरूलाई नयाँ सदस्यता दिने प्रक्रिया अघि बढाउन भनिएको छ । साथै एमालेले आउँदो जेठ मसान्तभित्र सबै स्थानीय पार्टी कमिटीका अधिवेशनहरू सम्पन्न गर्न भनेको छ ।
एमालेले सदस्य हुनका लागि पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिलाई मान्नुपर्ने, कमिटीमा संगठित भएर जिम्मेवारी बहन गर्नुपर्ने र आर्थिक दायित्व पुरा गर्नुपर्ने लेनिनले भनेका तीनवटा सर्त मान्नुपर्ने जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up