


काभ्रे । जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न १२ जना र जेनजी आन्दोलनको क्रममा फरार रहेको ५ जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । त्यसबेला इलाका प्रहरी कार्यालय बनेपाको हिरासतबाट भागेका १२ मध्ये पाँचलाई प्रहरीले पक्राउ गरिसकेको छ ।


कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार पक्राउ पर्नेमा अभद्र ब्यबहारमा मुद्धा दर्ता भएका काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ का २८ बर्षिय सरोज पोडे, सोही मुद्धाका पनौती नपा–९ का ३३ बर्षिय उत्तमबहादुर तिमल्सिना र रोशी गाउँपालिका–९ का ४६ बर्षिय नरबहादुर लुङ्गेली रहेका छन् ।

पोडेलाई पनौती नपा–७ बाट, तिमल्सिनालाई पनौती नपा–७ बाट र लुङ्गेलीलाई रोशी–९ बाट पक्राउ गरिएको हो । यसैगरि जबरजस्ती करणीमा मुद्धा चलाइएका खोटाङको जन्तेढुङ्गा गापा–६ का २३ बर्षिय प्रविन मगर र सवारी अङ्गभङ्गमा हिरासतमा रही फरार रहेका रोशी गापा–१ का ३२ बर्षिय भिमबहादुर सुनारलाई पक्राउ गरिएको जनाइएको छ । मगरलाई उनकै घरबाट र सुनारलाई बनेपा नपा–८ बाट पक्राउ गरिएको विष्टले जानकारी दिए । उनका अनुसार उनीहरुलाई कार्तिक २५ गते पक्राउ गरी पुनः हिरासत पठाइएको र उनीहरुको मुद्धाबारे थप अनुसन्धान भइरहेको छ ।
जेनजी आन्दोदनका क्रममा तोडफोड गरेको आरोपमा गत कार्तिक महिनामा नै पक्राउ गरिएको थियो । पक्राउ पर्नेहरुमा पनौती नगरपालिका–३ का अनिष सापकोटा, वडा नं ८ का सुमन केसी, वडा नं १० का साकार केसी, वडा नं २ का स्यान्जी भन्ने सुवाष तामाङ, बेथानचोक गाउँपालिका–६ का समीर तामाङ, वडा नं ३ का चिउरे भनिने होमप्रसाद तिमल्सिना र महाभारत गाउँपालिका–४ का ङेमासाङ मुक्तान रहेका छन् ।
यस्तै पनौती नपा–३ का अनिष सापकोटा विरुद्ध यसअघिसमेत मुद्ध्दा दर्ता भएको थियो । सापकोटाविरुद्ध विसं २०७२ सालमा अभद्र व्यवहार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जेजनी आन्दोलनपछि पनि सापकोटा सामाजिक सञ्जालमा विभिन्न धम्की दिँदै गालीगलौजमा उत्रिएको जनाइएको छ । बेथानचोकका होमप्रसाद तिमल्सिनाविरुद्ध पनि विसं २०८१ सालमा अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता भएको थियो ।
यसैगरि पनौती नपा–२ का तामाङविरुद्ध तीनपटक चोरी मुद्दा दर्ता भएको छ । कार्यालयका अनुसार काभ्रेपलाञ्चोक र मातहत प्रहरी इकाइहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । यसैगरी मसिर १ गते थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लास्थित विभिन्न सरकारी संरचना, प्रहरी कार्यालय भवन तथा सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–३ का २१ वर्षीय अजय तामाङ, खानीखोला गाउँपालिका–१ का २१ वर्षीय विशाल भोलन, बनेपा नपा–३ का २२ वर्षीय रवीन्द्र परियार र वडा नं ८ का १९ वर्षीय अभि सुधाकार तथा दोलखाको जिरी नपा–१ का २७ वर्षीय भीम तामाङ रहेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकामध्ये भोलनविरुद्ध इलाका प्रहरी कार्यालय बनेपामा २०८१ मा लागुऔषध मुद्दा दर्ता भएको छ भने सुधाकार विरुद्ध २०७९ मा सवारी ज्यान मुद्दा दर्ता भएको थियो । पक्राउ परेकाको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि जेनजी आन्दोलनका क्रममा जिल्लामा विभिन्न सरकारी तथा निजी भवन र सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप १२ जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको थियो ।
जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नविरुद्ध कार्यालयमा परेको उजुरीका आधारमा घटनाको अनुसन्धानसँगै आन्दोलनका क्रममा आपराधिक घटनामा संलग्नको खोजी भइरहेको कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले कार्यालयमा छ वटा निजी संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान सुरु गरिएको बताए ।
कार्यालयले आफ्नो मातहतको इलाका प्रहरी कार्यालय बनेपा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ लाई भने पक्राउ गरी कारबाहीसहित थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको थियो ।


