


मोरङ, कार्तिक २९ — श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको वार्षिक कार्यक्रमअन्तर्गत जिल्ला समिति मोरङको संयोजन र श्रीकृष्ण प्रणामी मन्दिर सलकपुरको व्यवस्थापनमा एक दिवसीय नेतृत्व विकास तथा संगठन सुदृढीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रम भव्य र सभ्य वातावरणमा सम्पन्न भएको जिल्ला समिति मोरङका सह–सचिव बद्री प्रसाद ढकालले जानकारी दिनुभयो।


प्रशिक्षण कार्यक्रम मोरङ जिल्ला अध्यक्ष श्री शिवलाल (शरण) भट्टराईको अध्यक्षतामा तथा केन्द्रीय उपाध्यक्ष श्री शारदाप्रसाद थपलियाको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको थियो। सलकपुर मन्दिरका संचालक युवा सन्त श्री मधुकर महाराज ज्युको आशिर्वचनबाट प्रारम्भ भएको सो प्रशिक्षणमा संगठन तथा क्षमता विकासका विभिन्न महत्वपूर्ण विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा संगठन विभागका संयोजक श्री नन्दकिशोर शर्मा, सम्पत्ति संरक्षण विभागका संयोजक श्री नवराज कोइराला तथा रिलायन्स कलेज काठमाडौंका संगठन विभाग प्रमुख हरिप्रसाद आचार्यले प्रशिक्षण सहजीकरण गर्नुभएको थियो।
सेवा समिति, युवा परिषद्, वाईजुराज महिला समिति, हरिभक्त ट्रष्ट, मंगल प्रतिष्ठान तथा अन्य अगुवा सुन्दरसाथहरू गरी कुल ८२ जना सहभागीहरु उपस्थित रहेका थिए। सहभागीहरूले संगठन निर्माण, नेतृत्व क्षमताको विकास तथा संस्थागत सुदृढीकरणका बारेमा उपयोगी ज्ञान हासिल गरेको बताइएको छ।
कार्यक्रमको अन्त्यमा आयोजक समितिले प्रशिक्षणका केही झलकहरू सार्वजनिक गर्दै आगामी दिनमा यस्ता प्रभावकारी कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरेको छ।


