


बनेपा । आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा अध्यक्ष ग्रुवेन तौजेलको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य प्रमुख अतिथि रहे।




सभामा उपाध्यक्ष प्रकाश कायस्थ, निवर्तमान अध्यक्ष दिनेशराज कायस्थ, सचिव धर्मभक्त प्रधान, कोषाध्यक्ष सूर्यकुमार रञ्जित, लेखा सुपरिवेक्षण समिति संयोजक विकास बैद्य तथा विभिन्न उपसमितिका पदाधिकारी र शेयर सदस्यहरूको सहभागीता थियो। पनौतीस्थित सेवा केन्द्रको संयोजन लक्ष्मीकृष्ण ताम्राकारले र भकुण्डे सेवा केन्द्रको संयोजन रामहरी आचार्यले गरिरहेका छन्।

प्रमुख व्यवस्थापक सुवास बैद्यका अनुसार आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट शेयर सदस्य, ऋणी, बचतकर्ता तथा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो। उत्कृष्ट कर्मचारीतर्फ प्रशासन विभागका अधिकृत श्रीकृष्ण सुवाल पुरस्कृत भए।

कार्यक्रममा प्रमुख अतिथि सुरकृष्ण बैद्यले हालको आन्दोलनले उद्योग–व्यवसायमा पारिरहेको असर, सरकारी नीति तथा सहकारी क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिकाबारे धारणा व्यक्त गरे। पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले सहकारीले संकटका अवस्थामा पनि सदस्यहरूको बचत तथा ऋण कारोबारलाई निरन्तरता दिएको उल्लेख गरे। अध्यक्ष तौजेलले आभाष सहकारीले देशको समग्र आर्थिक अवस्थाबिच पनि सदस्यहरूलाई सहज सेवा प्रदान गर्दै आएको बताए। हाल संस्थामा ६ हजार ७७८ सदस्यमध्ये ६ हजार ८ व्यक्तिगत, २९ संस्थागत र ९६४ बाल सदस्य रहेको छ।

सचिव धर्मभक्त प्रधानले आगामी वर्षका योजनामार्फत छोरी अभियान कार्यक्रम नयाँ वर्ष र स्थापना दिवसमा सञ्चालन गर्ने, मुटु तथा अन्य रोगसम्बन्धी स्वास्थ्य शिविर गर्ने, सामुदायिक विद्यालयमा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गर्ने, ज्येष्ठ सदस्य सम्मान र वृक्षारोपण जस्ता कार्यक्रम जारी राख्ने प्रस्तुति गरे।
कोषाध्यक्ष सूर्यकुमार रञ्जितले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कुल सम्पत्ति ९३ करोड ९ लाख ४८ हजार रहेको जानकारी दिए। संस्था गत वर्ष ६७ लाख ८ हजार रुपैयाँ नाफामा रह्यो भने आन्तरिक राजश्व कार्यालय र स्थानीय तहमा ६७ लाख रुपैयाँ कर तिरेको छ। जगेडा कोषमा २ करोड ९४ लाख, स्थिर सम्पत्ति १२ लाख ६ हजार, ऋण लगानी ६६ करोड ५७ लाख, बचत ८२ करोड ७६ लाख, शेयर पूँजी ३ करोड ७६ लाख र जोखिम कोषमा ३ करोड ५० लाख रहेको छ।
सभाले आगामी वर्षमा सेवा विस्तारसहित सदस्यमैत्री कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।


