१५ दिनभित्र माग पूरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता पछि बञ्चरेडाँडाको अवरोध अन्त्य

 

काठमाडौं । बञ्चरेडाँडामा फोहोर फाल्न रोकिएको चार दिनपछि काठमाडौं उपत्यकाको फोहोर विसर्जन पुनः सुरु भएको छ।

बिज्ञापन

आइतबार शहरी विकासमन्त्री कुलमान घिसिङको टोलीले स्थानीय बासिन्दा र जनप्रतिनिधिसँगको छलफलमा १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयले अवरोध हटाएका हुन्।

‘मन्त्रीज्यूले माग पूरा गर्ने आश्वासन दिनुभयो, हामीले १५ दिनको समय दिएका छौं,’ नुवाकोटको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले थाहाखबरसँग भने, ‘माग पूरा नभए पुनः आन्दोलन गर्ने चेतावनी पनि दिएका छौं।’

वडाध्यक्षका अनुसार अवरोध हटेसँगै रोकिएका फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ पठाइएको छ।

गत बुधबारदेखि स्थानीयले फोहोर फाल्न नदिँदा उपत्यकाका चोक–चोकमा फोहोर थुप्रिएको थियो। उनीहरूले वि.सं. २०७९ जेठ २६ मा भएको १८ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै आन्दोलन थालेका थिए।

सहमतिअनुसार फोहोर रातको समयमा मात्र फाल्ने, दुर्गन्ध नियन्त्रण गर्ने, फोहोर बोकेका गाडीबाट लिच्चड नचुहाउने र प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा उपलब्ध गराउने व्यवस्था कार्यान्वयन हुनुपर्ने स्थानीयको माग छ।