



काभ्रे । पत्रकार सन्तोष प्रसाद तिवारीले आफू कुनै पनि राजनीतिक दल वा पत्रकार संगठनसँग आबद्ध नरहेको स्पष्ट गर्दै स्वतन्त्र पत्रकारका रूपमा कार्य गर्ने घोषणा गरेका छन्। उनी प्रेस सेन्टर नेपाल काठमाडौं जिल्ला शाखाको सचिब थिए ।


तिवारीले शुक्रबार फेस्बुकमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “म आजका दिनदेखि कुनै पनि पार्टी–निकट पत्रकार संगठनमा संलग्न छैन। म विशुद्ध रूपमा आफ्नै पेशाप्रति जिम्मेवार र उत्तरदायी भूमिकामा रहने छु।”

उनले आफ्नो मिडिया र व्यवसायिक संस्था भएकाले पनि कुनै दलसँग आबद्ध नभएको उल्लेख गर्दै विगतमा कुनै क्रान्तिकारी संगठनमा रहेर काम गरेको अनुभवलाई “शिक्षा र परिवर्तनको बाटो” भएको बताएका छन्।
“अबका दिनमा ती परिवर्तनहरू आफैंबाट सुरु गर्दै ती बाटोमा हिँड्न सिकाउने सम्पूर्ण अग्रज र गुरुहरूप्रति सम्मान प्रकट गर्दछु,” तिवारीले भनेका छन्।
स्वतन्त्र प्रेसप्रतिको प्रतिबद्धता जनाउँदै उनले नेपाल पत्रकार महासंघलाई सबैको साझा छाता संगठनको रूपमा स्वतन्त्र र निष्पक्ष रहनुपर्ने आवश्यकता औंल्याएका छन्।
“पत्रकारिता निष्पक्ष र विश्वसनीय हुनुपर्छ। म आफ्नो पेशाप्रति इमानदार र बफादार छु,” तिवारीले भनेका छन्। उनले शुभचिन्तक र सहकर्मीहरूलाई कुनै भ्रममा नपर्न पनि आग्रह गरेका छन्।
अन्त्यमा उनले प्रेस स्वतन्त्रताको पक्षमा नारा दिएका छन् —
“प्रेस स्वतन्त्रता जिन्दावाद, दलरहित पत्रकारिता जिन्दावाद, स्वतन्त्र र निष्पक्ष पत्रकारिता जिन्दावाद, सन्तुलित पत्रकारिता जिन्दावाद।”