काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा आर्थिक वर्ष २०७९/ ०८० को लागि नीति तथा कार्यक्रम निर्माण र योजना तर्जुमाको लागि पालिका स्तरीय सर्वपक्षिय बैठक सम्पन्न भएको छ । मंगलबार पालिकाको सभाहलमा बसेको उक्त बैठकले पालिकामा रहेको सबै राजनीतिक दल, बुद्धिजीवि, किसान, व्यवसायीहरु मिलेर सुन्दर गाउँपालिका बनाउने संकल्प गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पालिकाको निवर्तमान अध्यक्ष दिननाथ गौतमले कृषि र पशुपालनलाई आगामी आर्थिक वर्षमा पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘उत्पादन बढाउन र रोजगार सिर्जना गर्न कृषि, पशुपालन र पर्यटन मात्र हो ।’ निवर्तमान अध्यक्ष गौतमले भने, ‘त्यसपछि यसको साथ–साथमा गुणस्तरीय शिक्षालाई जोड दिन आबश्यक छ ।’

त्यसैगरी सर्वपक्षिय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष रेणुका चौंलागाईंले गाउँपालिकाको समृद्धिको लागि सहभागी सबैले धेरै राम्रो सल्लाह सुझाव दिएकोमा धन्यवाद दिएका थिए । महत्वपूर्ण सल्लाहहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न धेरै सहयोग पुग्ने अध्यक्ष चौंलागाईंले बताए । ‘आजको यो छलफलले हामीलाई एउटा महत्वपूर्ण सहयोग भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न समेत ठूलो टेवा पुगेको छ ।’ चौंलागाईंले भने, ‘अब हामी सबै मिलेर सुन्दर गाउपालिका निर्माण गरौं । हिजो निर्वाचनको क्रममा हामी अलग–अलग दलमा विभाजित भयौं । आज हामी सबै एकठाउँमा छौं । अब हामी सबै मिलेर बढौं ।’

संघीय सरकारको योजना अनुसार अब गाउँपालिकामा कोल्ड स्टोर निर्माण, तरकारी बोक्ने एउटा गाडीको व्यवस्था लगायतका कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे ।

यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष शेरबहादुर तामाङले पूर्व जनप्रतिनिधिहरुबाट सिक्दै र बाँकीरहेको कामहरु पूरा गर्ने बताए ।

कार्यक्रममा माओवादी केन्द्रका गाउँकमिटी इन्चार्ज बिष्णुप्रसाद गौतम अडिगले आफ्नो पार्टीले चौरीदेउराली गाउपालिकाको बिकासको लागि पहिलो र दोश्रो चरणमा नेतृत्व गर्न पाएकोमा खुशी व्यक्त गर्दै जनताको आवश्यकता पूरा गर्न तत्पर रहेको बताए । भौगोलिक बिकटताको हिसाबले बजेट ब्यबस्था गर्नुपर्ने, परम्परागत टुक्रे योजनाहरुमा रम्न नहुने, युवाहरूलाई स्वरोजगार बनाउन, र ५ बर्षमा ५ वटा नमुना बिद्यालय निर्माण गर्न गौतमले सल्लाह दिए ।

नेकपा (एमाले) गाउँ कमिटी अध्यक्ष जीतराम लामाले राम्रो काम गर्न नवनिर्वाचित जनप्रनिधिहरुलाई अनुरोध गर्दै उपभोक्त समितिले पनि म जनताको प्रतिनिधि हु भन्ने बुझ्नुपर्नेमा जोड दिए ।

लामाले आफू निर्वाचनमा हारेपनि जितेपनि आफ्नो भूमिका गाउँपालिकामा बिकास गर्ने रहेको बताउँदै प्रोजेक्ट बैंक निर्माण गर्नुपर्ने, नर्सिङ कलेज खोल्नुपर्ने, पर्यटनलाई महत्व दिनुपर्ने, युवालाई शिपयुक्त र जिम्मेवारी बनाउने अभियान सन्चालन गर्नुपर्ने लगायतका सल्लाह दिएका थिए ।

नेपाली कांग्रेसका गाउँ इकाई सचिब डकप्रसाद गौतमले अन्य गाउँपालिकामा भन्दा चौंरीदेउराली गाउँपालिकामा निक्कै विकास भएको बताउँदै अन्य गाउँपालिका भन्दा भिन्न देखाउनु पर्नेमा जोड दिए ।

एकीकृत समाजवादीका गाउँ कमिटी इन्चार्ज लोक बहादुर गौतमले निर्वाचन लड्दै गर्दा पार्टीको कार्यकर्ता नेता बनेपनि निर्वाचित भएपछि जनप्रतिनिधिहरु सबैको साझा व्यक्ति रहेको बताउँदै भेदभाव नगरी नीति तथा कार्यक्रम र बजेटको ब्यबस्था गर्न सल्ला दिए ।
कार्यक्रममा वडा नं. ३ का निवर्तमान वडा अध्यक्ष बिनोद घिसिङ, बुद्ध हिमालय माविका प्रधानाध्यापक राजु चौलागाईं लगायतले सुझाव राखेका थिए ।

कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष चौंलागाईंले गरेका थिए भने सञ्चालन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले गरेका थिए । कार्यक्रममा गाउँपालिका भरिका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षक, कर्मचारी, बुद्धिजीवि, पेशाकर्मी, स्थानीय जनताको सहभागी थियो ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..