‘पीडा चेलिको’ — चेलीको मर्म स्पर्श गर्ने ‘मेरि भाउजु’ टिमको मार्मिक तिज गीत सार्वजनिक

काठमाडौं —टिकाराम श्रेष्ठको निर्देशन मा नेपाली समाजमा चेलीको स्थान, उसको वेदना र भोगाइहरूलाई जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गर्दै टेलिशृङ्खला ‘मेरि भाउजु’ टिमले एक अत्यन्तै मार्मिक तिज गीत ‘पीडा चेलिको’ सार्वजनिक गरेको छ। पारिवारिक सन्दर्भ, समाजमा चेलीले भोग्नु परेका दुःख, माइतीप्रतिको माया, अनि पराइ घरमा बिताउने कठिन समयलाई गीतमार्फत गहिरो रूपमा प्रस्तुत गरिएको छ।

गीतका शब्द तथा लय लोकप्रिय सर्जक रामु बिरहि मल्लले तयार गरेका हुन्। गीतमा उनले समाजमा मौन रहेको चेलीको मर्मलाई कलात्मक र गहिरो भाषामा पोखेका छन्, जुन सँगै संगीतले झनै प्रभावशाली बनाएको छ।

बिज्ञापन

स्वरमा रन्जिता विश्वकर्मा, रामु बिरहि मल्ल, टिकाराम श्रेष्ठ, रमा गोदार थापा र सबिता नेपालले आफ्नो आत्मा घोलेर गीतलाई जिउँदो बनाएका छन्। उनीहरूको सम्वेदनशील गायन शैलीले गीतमा प्राण भरेको छ।

चेलीको पीडा बोलेको गीत
‘पीडा चेलिको’ केवल तिज गीत होइन, यो एउटा समाजको ऐना हो, जहाँ हजारौँ चेलीहरू माइती सम्झेर रुन्छन्, बुढा बाबुआमा सम्झेर मन भारी बनाउँछन्, अनि पराइ घरमा आफूलाई गुमाएर बाँच्छन्।

गीतमा चेलीहरूले माइती छोडेर पतिको घरमा जाँदा भोग्नु पर्ने अनेक मानसिक, भावनात्मक र सामाजिक दबाबलाई उजागर गरिएको छ। तिजजस्ता चाडपर्वले पनि उनीहरूमा झनै भावनात्मक चपेटा ल्याउने गर्छ — यही यथार्थलाई गीतले मन छुने ढंगले उठाएको छ।

सांगीतिक प्रस्तुति र सामाजिक सन्देशको मिलन
यस गीतमा केवल सुर र ताल मात्रै होइन, चेलीहरूको मौन आवाज, पीडादायी अनुभव र परिवारप्रतिको अमिट प्रेम मिसिएको छ। तिजलाई रमाइलो नाचगानमा मात्र सीमित नराखी, सामाजिक सन्देश र चेतनाको स्वरूप बनाउने उद्देश्यले गीत तयार गरिएको छ।

‘मेरि भाउजु’ टिमको यो प्रयास केवल मनोरञ्जनको लागि नभई, चेलीहरूको अधिकार, अस्तित्व र सम्मानप्रति समाजलाई सजग बनाउने अभियान हो।
गीत युट्युबमार्फत सार्वजनिक भएसँगै छोटो समयमै धेरै दर्शकहरूको मन छोएको छ। धेरै दर्शकहरूले गीतको शब्द र भावनालाई आफ्नो व्यक्तिगत अनुभवसँग जोडेर प्रतिक्रिया दिएका छन्।
‘पीडा चेलिको’ तिज गीतले यस वर्षको तिजलाई केवल नाचगान र रमाइलोको पर्व होइन, भावनात्मक चिन्तन र सामाजिक आत्मपरीक्षणको अवसर बनाएको छ। चेलीका आँखाका आँसु, मनका भावना र मौन रहनु परेको सत्यतालाई सजीव बनाउने गीतलाई सुन्नेहरूमध्ये थोरै मात्र होलान् जो भावुक नहोउन्।