काभ्रेपलान्चोक – एमालेका महासचिव ईश्वर पोखरेलले २०७५ जेठ २ जस्ताको त्यस्तै दोहोरिएर नआउने बताएका छन । माधव नेपाल छाडेर एमालेमा बसेका नेताहरुले जेठ २ अनुसार १० बुँदे सहमति कार्यन्वयनको कुरा गरिरहेका बेला महासचिव पोखरेलले जस्ताको त्यस्तै नहुने बताए ।
शनिबार बनेपामा एमालेले आयोजना गरेको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले जेठ २ जस्ताको त्यस्तै हुँदैन, फेरि दोहोरिए आउँदैन । हामी कानूनी हिसाबले एमाले भयौं तर जेठ २ भनेर बस्दा एकताको मर्म विपरित हुन्छ । आधारमूत रुपमा एकताको भावनालाई आत्मसात गरेर जेठ २ मा जाने कुरा हो ।

महासचिव पोखरेलले सांसद पद त्यागेर एकताको प्रक्रियामा उभिएका पूर्व माओवादी नेताहरुलाई कमजोर बनाउने वा हतोत्साही गराउने कुरा कुनै पनि हालतमा नहुने भन्दै उनले अहिलेको एमाले जेठ २ अघिको नभएको समेत प्रष्ट पारे । महासचिव पोखरेलले अब एमालेमा प्यानल बनाएर चुनाव नहुने भन्दै प्यानलबन्दीले पार्टीलाई तलैसम्म विभाजित बनाउने बताए ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपवहादुर रायमाझीले अहिलेको एमाले तत्कालीन माओवादीसहितको नेकपाको निरन्तरता भएकाले एमालेकोमात्र एकताले कम्युनिस्ट आन्दोलनको मूल प्रवाह बन्न नसकिने बताएका थिए ।

कार्यक्रममा पूर्वमन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाले जनताले एमालेलाई दिएको मत कांग्रेसको पाउमा लगेर शेरवहादुर देउवालाई बेच्नेहरुले आफूमाथि प्रश्न उठाउने नैतिक हैसियत नरहेको दावी गर्दै आफूमाथि भ्रष्टाचारको आरोप लगाउनेहरुलाई पुष्टी गर्न चुनौति दिए । बाँस्कोटाले भने– ‘राज्यका छानविनकारी निकायलाई चुनौती दिन्छु । म कठघरामा उभिन्छु । छानविन गर । हिम्त छ भने पुष्टि गर । जनताले एमालेलाई दिएको मत बेच्नेहरु महाभ्रष्ट हुन् । त्यस्ताले ममाथि आरोप लगाउनुको औचित्य छैन ।

उनले आफूले मन्त्री हुँदा पनि घरबहाल बापतको रकम नलिएको बताए । ‘मन्त्री हुँदा पनि घरवहाल वापतको रकम लिइनँ । पार्टी अध्यक्षको घरमा गएर बसेको हुँ,’ बाँस्कोटाले भने ‘तर ममाथि आरोप लगाउनेहरु पार्टी कार्यालयको सम्पत्ति चोरेर हिड्नेहरु छन् ।

उनले जिल्लामा आफ्नो पालामा इतिहासकै धेरै विकास भएकाले कांग्रेस समेत नतमस्तक भएपछि एमालेभित्रकै केही व्यक्ति भौतिक रुपमा सिध्याउने षडयन्त्रमा समेत लागेको बताए । बाँस्कोटाले प्रदेशसभामा एमालेबाट जितेर नेकपा एसमा लागेका लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईलाई अबको चुनावमा आफ्नो वडामा जितेर देखाउन चुनौति दिएका थिए ।
जिल्ला अध्यक्ष अशोक ब्यान्जुको अध्यक्षतामा भएको भेलामा सांसद नविना लामा, प्रदेश सांसदहरु चन्द्र लामा, गोमा भुर्तेल, एमाले नेताहरु रामहरी सुबेदी, भिम न्यौपाने, रेशम लामा, नारायण बानियालगायतका नेताहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly