एमाले महाधिवेशनः नयाँ नेतृत्व चुन्‍न आज मतदान, आजै मतगणना र नतिजा

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने कार्यक्रम तय गरिएको छ ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ । यस्तै महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार रहेका छन् । मतदान प्रक्रिया विद्युतीय मेसिनमार्फत् सम्पन्न हुनेछ ।

बिज्ञापन

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ । निर्वाचनमा कुल २ हजार २६३ प्रतिनिधिले मतदान गर्नेछन् ।

मतदान सम्पन्न भएपछि भृकुटीमण्डपमै मतगणना गरिने आयोगले जनाएको छ । मतपरिणाम घोषणा, निर्वाचितलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम पनि सोही स्थानमै आयोजना गरिने एमालेले जानकारी दिएको छ ।

यसैबीच, एमालेको अनुशासन आयोग र लेखा आयोगका विभिन्न पदमा १४ जना निर्विरोध निर्वाचित भइसकेका छन् । अनुशासन आयोगको अध्यक्षमा प्रा।डा। भरतराज पहाडी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा राजेन्द्र घिमिरे निर्विरोध भएका छन्।

लेखा आयोगको अध्यक्षमा डा। पुष्पराज कँडेल, उपाध्यक्षमा घनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै केन्द्रीय सदस्यतर्फ युवा खुलाबाट नरेश रोकाय र सुशील थापा, मधेशी युवाबाट अमरकुमार यादव, मुस्लिम महिलाबाट खाजिदा खातुन सिद्दिकी, श्रमिक महिलाबाट कमलादेवी तामाङ र सिता लामा निर्विरोध निर्वाचित भएका छन् ।

पछडिएको महिलातर्फ बदमी क्वाँरी बुढा (बोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे पनि केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।