काभ्रे । अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारण सभा शुक्रबार काभ्रेको धुलिखेलमा भव्य रूपमा सम्पन्न भएको छ।
धुलिखेल नगरपालिकाको सभा हलमा आयोजित सो कार्यक्रममा संघको आन्तरिक प्रशासनिक निर्णयदेखि आर्थिक प्रतिवेदन र भावी रणनीतिसम्मका विषयमा गहिरो छलफल र निर्णयहरू गरिएको थियो।
कार्यक्रमका सभापति तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गको अध्यक्षतामा सम्पन्न भएको सभामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ्ग प्रमुख अतिथिको रूपमा सहभागी थिए।
कार्यक्रमका इमानुयल इङ्ग्लिस स्कुलका विद्यार्थीहरूले राष्ट्रिय गान प्रस्तुत गर्दै कार्यक्रमको औपचारिकता सुरुवात गरिएको थियो। प्रमुख अतिथि घिसिङ्गले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य महासचिव किरण राईले राखेका थिए भने प्रमुख अतिथि घिसिङ्गले नेपालको फुटबल विकासको सन्दर्भमा पारदर्शिता, संरचना सुधार र सम्भावनाका बिषयमा स्पष्ट धारणा प्रस्तुत गरेका थिए ।
कार्यसूची अनुसार सभामा संघको विधान संशोधन, आर्थिक कार्यविधि पुनरावलोकन, लेखा परीक्षण प्रतिवेदन स्वीकृति, पूर्व बैठकको निर्णय अनुमोदन तथा सदस्यताको नवीकरण जस्ता विषयहरूमा निर्णय गरिएको बताइएको छ ।
साथै, नयाँ आर्थिक वर्षको लागि बजेट स्वीकृति, लेखा परीक्षण समितिको प्रतिवेदन, स्वतन्त्र लेखा परीक्षक नियुक्ति तथा संघका विभिन्न अंग र समितिहरूको निर्वाचन प्रक्रिया पनि छलफलमा पर्न सक्ने व्यवस्था गरिएको थियो।
धुलिखेलमा सम्पन्न साधारण सभा नेपाली फुटबलको भावी पथ निर्धारण गर्ने निर्णयहरूसँगै पारदर्शिता र संस्थागत सुदृढीकरणको दृष्टिकोणमा महत्वपूर्ण मानिएको छ। विशेषगरी, संघको आन्तरिक आर्थिक नियमावली संशोधन, लेखा पारदर्शिता र समितिहरूको स्वतन्त्र निर्वाचनमार्फत एन्फाले विश्व फुटबल मापदण्डअनुसार अघि बढ्न खोजेको संकेत दिएको बताइन्छ ।