बिन्धवासिनीको बनेपा सेवा कार्यालयमा बजेट तथा कार्यक्रम सुझाव सङ्कलन भेला सम्पन्न

 

बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रमलाई सदस्यको आवश्यकता र सुझावअनुसार तर्जुमा गर्ने उद्देश्यले बनेपा सेवा कार्यालय अन्तर्गतका सदस्य प्रतिनिधिहरूसँग सुझाव सङ्कलन भेला सम्पन्न गरेको छ।

बिज्ञापन

आइतबार संस्थाको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका कोषाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा उपसमितिका संयोजक भिमबहादुर खत्रीको सभापतित्व रहेको थियो। कार्यक्रमको सञ्चालन बनेपा सेवा कार्यालयका सचिव सोनु लामाले गर्नुभएको थियो भने स्वागत मन्तव्य सेवा कार्यालय संयोजक मोहन हुमागाईले व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले संस्थाको समग्र प्रगति, हासिल भएका उपलब्धि तथा सञ्चालनमा रहेका विभिन्न कार्यक्रमबारे जानकारी गराउनुभएको थियो। त्यसैगरी, बनेपा सेवा कार्यालयका कार्यालय व्यवस्थापक मित्रप्रसाद दाहालले सेवा कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

७१ जना सदस्य प्रतिनिधिहरूको सहभागिता रहेको भेलामा सहभागीहरूले संस्थाको सेवा, आगामी योजना तथा कार्यक्रमसम्बन्धी विभिन्न सुझाव र जिज्ञासा राखेका थिए। ती जिज्ञासाहरूको जवाफ संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि. लामा स्याङ्तानले दिँदै संस्थाको भावी कार्यदिशाबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रमको समापनका अवसरमा संस्थाका सञ्चालक सदस्य तथा बजेट तथा कार्यक्रम तर्जुमा उपसमितिका सदस्य गणेशप्रसाद पराजुलीले सदस्यहरूबाट प्राप्त सुझावहरू आगामी बजेट तथा कार्यक्रम निर्माण प्रक्रियामा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संस्थाको विकास र सुदृढीकरणमा सदस्यहरूको सक्रिय सहभागिता महत्वपूर्ण रहेको उल्लेख गर्दै सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

उत्साहजनक सहभागितासहित सम्पन्न भएको उक्त भेला आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई अझ प्रभावकारी, व्यवहारिक तथा सदस्यमैत्री बनाउन महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ।