आर आर क्याम्पसमा बृहत् साहित्यिक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गत माघ १३ गते भएको उक्त कार्यक्रम प्रलेस बागमती प्रदेश कमिटीको आयोजनामा भएको हो ।

सो कार्यक्रममा प्रगतिवाद र अपाङ्गता, वर्तमान सन्दर्भमा मार्क्सवाद, वर्तमान सन्दर्भमा मार्क्सवादी साहित्य जस्ता वैचारिक विषयहरु निर्धारण गरिएको थियो ।

यी विषयमा बोल्ने वक्ताहरुमा प्रलेसका पूर्व केन्द्रीय अध्यक्ष तथा हालका सल्लाहकारहरु डा. अमर गिरी, प्रा. डा. जीवेन्द्र देव गिरी हुनुहुन्थ्यो ।

अन्य वक्ताहरुमा प्रगतिशील लेख संघका सल्लाहकारहरु गोपी रमण  उपाध्याय, सीता शर्मा, रामप्रकाश पुरी हुनुहुन्थ्यो । अर्का वक्ता तथा कार्यपत्र प्रस्तोता डा. गोविन्दप्रसाद आचार्य र टिप्पणीकर्ता निमग्ना घिमिरे हुनुहुन्थ्यो । सो कार्यक्रम प्रलेस, बागमती प्रदेशका अध्यक्ष डा.हरिप्रसाद सिलवालको अध्यक्षतामा र प्रलेस केन्द्रीय कमिटीका अध्यक्ष डा. मधुसूदन गिरीको प्रमुख आतिथ्यमा भएको थियो ।

विचार गोष्ठीमा डा. अमर गिरीले प्रगतिशील र प्रगतिवादी साहित्य लेखनका निम्ति गहिरो अध्ययन, विचारमा स्पष्टता र विश्व परिवेशको वस्तुपरक ज्ञान हासिल गर्नुपर्ने धारणा राख्नुभएको थियो । उहाँले वर्तमान सन्दर्भमा मार्क्सवादी साहित्य विषयमा आफ्नो धारणा राख्दै  उक्त तर्क गर्नुभएको हो ।

कार्यक्रममा साहित्यकार  डा. गाेविन्द आचार्यले प्रगतिवादी साहित्यमा अपाङ्गता र समालोचक एवम् मार्क्सवादका अध्येता गाेपीरमण उपाध्यायले वर्तमान सन्दर्भमा मार्क्सवाद विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियाे ।

गोविन्दप्रसाद आचार्यले अपाङ्गता भएका मानिसलाई प्रगतिवादी साहित्यमा पूर्ण मानवीय दृष्टिले हेरिने गरिन्छ तर व्यवहारमा लागु गर्न अझै धेरै काम गर्नुपर्ने मत व्यक्त गर्नुभएको थियो ।

गाेविन्द आचार्यकाे कार्यपत्रमाथि समालोचक निमग्ना घिमिरेले टिप्पणी गर्नुभएकाे थियो । वर्तमान  सन्दर्भमा मार्क्सवाद विषयमा बोल्दै  प्रा. डा. जीवेन्द्रदेव गिरीले प्रगतिवादी साहित्य सधैं अन्याय र अत्याचार विरुद्ध रचिने तर्क गर्नुभएको थियो ।

त्यस्तै साहित्यकार रामप्रकाश पुरी र सीता शर्माले पनि प्रगतिवादी साहित्य आज सबल, सशक्त र आवश्यक रहेको भन्दै  आफ्ना विचार राख्नुभएकाे थियाे ।

सो अवसरमा  कार्यक्रमका प्रमुख अतिथि प्रलेसका केन्द्रीय  अध्यक्ष एवम् समालोचक डा. मधुसूदन गिरी र प्रलेस बागमती प्रदेशका अध्यक्ष  एवम् समालोचक डा. हरिप्रसाद सिलवालले पनि विचार गोष्ठी जस्ता कार्यक्रमहरु प्रलेसबाट गर्दै गरेकोले यस्ता कार्यले प्रगतिवादी साहित्यको उन्नयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै आफ्ना धारणा राख्नुभएको थियाे ।

८० जना साहित्यकार साहित्यानुरागीको उपस्तिथि रहेको सो कार्यक्रममा प्रलेसका सल्लाहकारहरु राम विनय, शान्ता मानवी, विश्नु प्रभात, नर्मदेश्वरी सत्याल, वासुदेव अधिकारी लगायत प्रलेस केन्द्रीय कमिटीका उपाध्यक्ष नमुना शर्मा र समीर सिंह, केन्द्रीय सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज डा.कृष्ण सुवेदी, प्राज्ञ चेतनाथ धमला,  प्रा. डा. रामप्रसाद ज्ञवाली, डा. विनोद मन्जन, छायादत्त न्यौपाने, नन्दु उप्रेती, ज्ञानु विद्रोही, कान्छा लामा रक्तिम, रत्ननिधि रेग्मी, पत्रकार शान्तराम बिडारी, मिसन अधिकारी, वैरागी जेठा, जगत वाशिश्ठ आदि  साहित्यकारहरूकाे बाक्लाे उपस्थिति रहेकाे कार्यक्रममा केही साहित्यकारहरूले प्रस्तुत विचारमाथि  टिप्पणी गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

खाना, नाना र छाना बिहिनहरुको साथमा नव क्षितिज …. #nawa #kshitiz