काभ्रे । जिल्लाको रोशी गाउँपालिकाको बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०÷०८१ मा रोशी गाउँपालिका र वडा कार्यालय मार्फत सम्पादित क्रियाकलापहरूको बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको हो।

शुक्रबार गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष लामाले समृद्ध रोशी निर्माणका लागि सबै पक्ष लाग्न अनुरोध गरेका छन् । ‘समृद्ध रोशी निर्माणमा गाउँपालिकाले मात्र केही गरौँ भनेर केही हुदैन । त्यसकारण जनप्रतिनिधि, कर्मचारी, पत्रकार, समाजसेवी सबै एक भएर लाग्यौँ भने समृद्ध रोशी निर्माण गर्न सक्छौँ । सबै आ–आफ्नो ठाउँबाट लाग्नु अनुरोध गर्दछु ।’ अध्यक्ष लामाले भने ।

रोशीको स्रोत साधनले भ्याएसम्म बिकास निर्माणमा लागि परेको बताउँदै लामाले शाखा र वडाले कार्ययोजना तयार गरेर कार्यसम्पादनमा लाग्न अनुरोध गरे ।

संघ र प्रदेश सरकारले सिलिङ अनुसार वित्तिय हस्तान्तरण नगरेकाले सोचे अनुसारको प्रगति हाशिल गर्न नसकेको गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले बताएका छन् । संघ र प्रदेश सरकारले विनियोजित रकम उपलब्ध गराएको भए करिब १०० प्रतिशत प्रगति प्राप्त गर्न सक्ने उनको भनाई छ ।

प्रतक्ष र अप्रत्यक्ष जसरी पनि योजनाको अनुगमन गर्ने उपाध्यक्ष वाईबाले बताए । गुणस्तरीय बिकास निर्माणको काममा कुनै सम्झौता नहुने उनको भनाई छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले दुरदृष्टिको योजनाहरू बनाएर अगाडी बढ्नुपर्ने बताए । ‘रोशीको दृष्टि पर्यटन र कृषि’ नारालाई सकार पार्नको लागि दत्तचित्त भएर कार्यसम्पादनमा लाग्न कर्मचारीहरूलाई तामाङले निर्देशन दिए । एउटा शाखाले गरेको राम्रो काम अर्काे शाखाले सिकोस भन्ने हेतुले प्रगति समीक्षाको आयोजना गरेको उनको भनाई छ ।

आर्थिक बर्ष २०८०÷०८१ मा विनियोजित रकमको ८० दशमलव ८५ प्रतिशत आर्थिक प्रगती हाशिल गरेको तामाङले बताए । आन्तरिक राजश्व संकलन लक्ष भन्दा बढी संकलन भएको प्रमुख प्रशासकीय अधिकृत तामाङले बताए । एक करोड २३ लाख ९० हजारको लक्ष राखेकोमा १ करोड ३५ लाख ४४ हजार ५ रुपैया राजश्व संकलन गरेको उनको भनाई छ ।

रोशी गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष लालकुमार पाख्रिनले स्रोत साधन कम, जनताको अपेक्षा बढी भएकोले त्यसलाई तालमेल मिलाएर काम गर्नुपर्ने बताए । त्यसरी नै वडा नं. ७ का वडाध्यक्ष अशोक कुमार गौतमले उपभोक्ता समितिहरूले गर्नुपर्ने काम कर्तव्य थाहा नभएकाले बिकास निर्माणको काम गर्न असहज भएको बताए । त्यसकारण उपभोक्ता समितिहरूलाई तालिमको आयोजना गाउँपालिकाले गर्नुपर्ने उनको भनाई छ ।

वडा नं. ३ का वडाध्यक्ष धनजित लामाले उद्यमशिलतालाई उत्पादननमा जोडेर अगाडी बढ्नुपर्ने बताए । पूर्वाधार, कृषि र पर्यटनमा दीर्घकालिन योजना बनाएर अगाडी बढ्नुपर्ने उनको भनाई छ ।

योजना शाखा प्रमुख राम लामाले सञ्चालन गरेको समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले पालिकाको प्रगति विवरण, शाखा प्रमुखहरूले बिषयगत शाखाको प्रगति विवरण र १२ वटै वडाका वडासचिवहरूले वडाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….