सल्ले – ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ भुम्लु गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता बिहीबार देखि भुम्लु-५ सल्लेमा सुरु भएको छ ।भुम्लु गाउँपालिका वडा नं. ५ को वडा अध्यक्ष अंचल लामाको अध्यक्षता तथा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको प्रमुख आतिथ्य, भुम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत बिष्णु सुवेदीको बिशिष्ट आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगिता तिन दिनसम्म चल्ने छ ।

भुम्लु गाउँपालिका भित्र रहेका सामुदायीक तथा निजी विद्यालयका विद्यार्थीहरु प्रतियोगितमा सहभागी भएका छन् । प्रतियाेगिताकाे उद्घाटन प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले विद्यालय स्तरमा रहेका विद्यार्थीहरुको खेल प्रतिभाको पहिचान तथा नयाँ खेलाडी उत्पादनमा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । खेलकुदको माध्यमबाट विद्यार्थी र विद्यालयको क्षमता मापन हुने भएकाले पनि यसलाई महात्वका साथ हेरिनु पर्ने र विद्यार्थीमा अनुशासित स्वभाव र व्यवहारको निमित्त खेलकुद प्रतियोगिता जरुरी रहेको बताउनु भयो ।

त्यस्तै गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले खेलकुदको माध्यमबाट विद्यार्थीको सर्वाङ्गिण विकास सम्भव भएको बताउनु भयो । खेलकुद जस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई भविष्यमा जीवनयापनका लागि सक्षम बनाइ मुलुकलाई प्रगतिशील बनाउन सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रमको बिशिष्ट अतिथि भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो । कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने र विद्यालयबाटै भविष्यका खेलाडीहरु उत्पादन हुने गरेको बताउँदै यो ३ दिने खेललाई एकदमै महत्वका साथ लिएको बताउनु भयो ।

पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी अतिथिहरुले प्रतियोगिता सफलताको शुभकामना दिँदै लगनशिल र राम्रो खेलाडीहरु उत्पादन हुने बिश्वास व्यक्त गर्नु भएको थियो ।राष्ट्रपति रनिङ शिल्ड बिद्यालय स्तरीय खेलकुद प्रतियोगितामा १३ बिधाका २६ खेलहरु एथलेक्सि, सटपुट, हाइजम्प, लङजम्प, ज्याबलीन थ्रो बिधाका खेल सञ्चालन हुँदै छन् । यसैगरी फुटबल, कबड्डी र भलिबल खेल सञ्चालन हुँदै छन्।

कार्यक्रममा स्वागत मन्तव्य भुम्लु गाउँपालिका वडा नं.४ को वडा अध्यक्ष लोक बहादुर कुँवरले राख्नु भएको थियो । भुम्लु गाउँपालिकाको १४ विद्यालयका झण्डै ७०० विद्यार्थीहरु सहभागी रहेका थिए । राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका शिक्षा अधिकृत प्रेम कुमार पुरिले जानकारी दिनुभयो । त्यस्तै, दोस्रो र तेस्रो हुने विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र उपलब्ध गराइने छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..