मंसिर नौ गते कवि सयपत्री थुलुङ्को कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौमा लोकार्पण सम्पन्न भएको छ । सम्भव समूहको आयोजनामा शनिबार मण्डला थिएटरमा कार्यक्रम सम्पन्न भएको हो । संखुवासभाका कवि थुलुङ विगत डेढ दशकदेखि साहित्य सिर्जनामा क्रियाशिल छिन भने हाल बिगत चार बर्ष देखि जापानलाई कर्म थलो बनाइरहेकी छिन।‘शान्तीको फूल गजलसङ्ग्रह प्रकाशन गरिसकेकी थुलुङको एक दशक पछि दोश्रो कृतिका रूपमा कवितासङ्ग्रह पाठक सामु ल्याएकी हुन् । कार्यक्रमका वक्ताहरू वरिष्ठ कवि श्रवण मुकारुङ, कवि ज्योति जंगल र कवि उत्तम तुम्सा लिम्बु रहेका थिए। प्रस्तुत छ उनै कबि सयपत्री थुलुङसँग नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले गरेको कुराकानी

० हाल केमा व्यस्त हुनुहुन्छ ?
म अहिले गाउँ फर्किरहेको परदेशी कविता संग्रहको प्रचारप्रसारमा नै केही दिन व्यस्त छु। साथै विभिन्न कार्यक्रमहरुमा पनि गइरहेको छु । पुर्ब धरान चतरामा यहीँ १६ गते बिचार विमर्श कार्यक्रमको तयारी गर्दै छु।

० “गाउँ फर्किरहेको परदेशी ” कृतिबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
एकदमै राम्रो र सकारात्मक प्रतिक्रियाहरु आइरहेको छ।आदरणीय ब्याक्तित्वहरुबाट माया साथ र हौसला पाइरहेको छु।

० जापानमा बसेर लेख्नु भो नेपालमा बिमोचन नै किन ?
कृति आफैमा नेपालमै बिमोचन हुन पर्ने खाल्को रहेकाले पनि हो । किनकी गाउँ फर्किरहेको परदेशीले पहिला त आफ्नै गाउँ जान्छ नि त त्यसपछि शहर हुँदै जापान पुग्ने छ त्यसैले यो भन्दा अगाडी म मेरो जन्म गाउँ गएर स्कुल कलेजमा कार्यक्रमहरु गरेर काठमाडौमा बिमोचन गरेकी हु ।

० कविता के रहेछ ? “गाउँ फर्किरहेको परदेशी” कृति कुन माहोलले सिर्जना गर्यो ?
कविता भन्नू त अनेकौ परिस्थितिहरूले मनमा दन्किरहने भावनाको ज्वाला हो जस्तो लाग्छ ।भोगाइहरुको साम्राज्य भित्र नै अधिकास कविताहरु जन्मिएको छन । जब अमुर्त सपनाहरू सजाउदै आफ्नै रहरहरूलाई धरौटी राखेर म एयरपोर्टको बाटो भएर जापान पुगेँ । देश प्रतिको प्रेम, गाउँ घर प्रतिको सम्झना, संघर्षका आयामहरु , आफन्त र परिवारको सम्झना यी यस्तै उल्झनहरुको आबेगमा सायद थाहै नपाई ती माहोलहरुले कविता सिर्जना गर्यो ।

०तपाईँ कविता किन लेख्नुहुन्छ ?
कविता लेख्न कारण चाहिदैन जब जीवन भोगाइमा कारण कारक भएर उभिन्छ तब कविता जन्मिन्छ। लेख्छु भनेर कविता लेखेको भन्दा नि नलेखेर धर नदिएका मन भित्र दन्किएका जीवन भोगाइका ज्वालाहरुले मलाई खरानी नबनाएको भए भन्ने प्रश्न आफै संग छ।

० किताब नै निकाल्न पर्छ भन्ने किन लाग्यो यो डिजिटल जमानामा ?
किताब एउटा यस्तो दस्तावेज हो । जहाँ कोरिएका शब्दहरु एउटा मिठो इतिहास भएर युगौयुग रहिरहन्छ । आजकलको डिजिटल समयमा जुनसुकै माध्यमबाट पनि पाठकले पढ्न सक्ने व्यवस्था छ तर पनि किताब नै किन त भन्दा धेरैजसो पाठकहरू अन्य माध्यमबाट भन्दा किताब नै पढेर मात्र सन्तुष्ट हुन्छन् किताब पढिरहदा मिल्ने स्वाद अन्य स्रोतहरूले दिन सक्दैन । अतः किताब नै पाठकको लागि दिर्घकालीन र सर्वप्रिय माध्यम हो । मैले लेखिरहदा मेरो भोगाई मात्र नभएर हरेक व्यक्तिहरूले भोगीरहेका तितो यथार्थलाई स्पर्श गरेर कविताहरु सृजना गरेकि छु जून कविताहरू कसैको लागि प्रेरणाको स्रोत बन्न सक्छ । कसैको लागि पिडाको मलम बन्न सक्छ। कसैको लागि खुशीको कारण पनि बन्न सक्नेछ यसर्थ मेरो कविताहरु किताब मार्फत नै पाठकको लागि ल्याएकि हुँ ।

० देश बसेर लेख्दा र परदेशमा बसेर लेख्दाको फरकपन के हुँदो रहेछ ?
लेखनमा रमाइरहनेलाई देश र परदेशको भुगोलले त्यति फरक पक्कै पार्दैन । तर जब हामी नेपालीपन बोकेर नेपाली मनहरू देश भन्दा पर रहन्छौ तब देश प्रति प्रेमको आयतन यति फराकिलो भएर फैलिदो रहेछ नि देश बाहिर बसेर देश सम्झिदा त अन्जान मुस्कानहरु फैलदो रहेछ । देश भित्र बसेर लेख्नु भन्दा देश बाहिर बसेर लेखिरहदा शब्द थुङ्गाहरू आफैमा देशप्रेमको खातिर फक्रदो रहेछ ।

० अन्तमा तपाईलाई भन्न मन लागेको कुरा मैले सोध्न छुटाएको भए ?
हार्दिक धन्यवाद यो अबसर र समयको लागि मेरो मनमा लागेको कुराहरु राख्न पाए तपाईहरु माझ गाउँ फर्किरहेको परदेशी कृति आइसकेको छ । माया हौसला दिनु होला । अनि जस जसले यो यात्रा सम्म साथ हौसला दिनु भो हार्दिक आभार बिशेष मलाई माया गरि शुभकामना दिनु हुने नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भुपाल राई ज्यु यति सुन्दर आबर कला तयार गर्दिनु हुने दाजु रमेश पौडेल , बिनेसाम जापन बिमोचन समारोहमा आइदिनु हुने आदरणीय कवि दाजु श्रवण मुकारुङ्ग,ज्योति जङ्गल अनि उत्तम तुम्सा साथै सम्भब समुह प्रति कृतज्ञ छु साथै मैले नाम लिन नसक्ने अनगिन्ती आदरणीय ब्याक्तित्वहरुमा समग्रमा आभार ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..