


बनेपा, काभ्रे ।
जिल्ला सहकारी संघ लि. काभ्रे अन्तर्गतको युवा समन्वय उपसमितिको आयोजनामा “सहकारीमा युवा नेतृत्वको भूमिका” विषयक अन्तरक्रियात्मक तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सहकारी क्षेत्रमा युवाको सहभागिता अभिवृद्धि गर्दै सक्षम, जिम्मेवार तथा दूरदर्शी नेतृत्व विकास गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रमले सहकारी अभियानमा युवाको भूमिकाबारे व्यापक छलफल तथा अन्तरक्रिया गर्ने अवसर प्रदान गरेको थियो।


कार्यक्रमको अध्यक्षता युवा समन्वय उपसमितिका संयोजक रोशन कुमार श्रेष्ठले गर्नुभएको थियो भने जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठ प्रमुख व्यक्तित्वका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा संघका उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरू, सञ्चालक समितिका सदस्यहरू, विभिन्न उपसमितिका सदस्यहरू, संघका कर्मचारीहरू तथा प्रारम्भिक सहकारी संस्थाका पदाधिकारी एवं कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा कुल ६५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।


कार्यक्रमको प्रारम्भमा युवा समन्वय उपसमितिका सदस्य समेश सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्दै सहकारी अभियानको वर्तमान अवस्था, चुनौती तथा अवसरहरूको चर्चा गर्नुभयो। उहाँले सहकारी आन्दोलनको दिगोपना सुनिश्चित गर्न युवाहरूलाई नेतृत्व तहसम्म पुर्याउन आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिम तथा अन्तरक्रियात्मक कार्यक्रमले युवाहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन युवा समन्वय उपसमितिका सदस्य सुरज कुमार न्यौपानेनले गर्नुभएको थियो। उहाँले कार्यक्रमको उद्देश्य, महत्व तथा अपेक्षित उपलब्धिबारे जानकारी गराउँदै सहभागीहरूलाई सक्रिय रूपमा छलफल तथा अन्तरक्रियामा सहभागी हुन आग्रह गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख सहजकर्ता तथा अन्तर्राष्ट्रिय प्रशिक्षक एवं मोटिभेटर राजु सरकारले सहकारी क्षेत्रमा युवा नेतृत्वको आवश्यकता, नेतृत्व विकासका आधारभूत पक्ष, सकारात्मक सोच, प्रभावकारी सञ्चार कला, निर्णय क्षमता, टोली निर्माण, व्यक्तित्व विकास तथा संस्थागत सुशासनका विषयमा विस्तृत सहजीकरण गर्नुभएको थियो। उहाँले विश्वव्यापी रूपमा नेतृत्व विकासका बदलिँदा अभ्यास, युवाको सोच र प्रविधिको प्रयोगमार्फत सहकारी संस्थाहरूलाई थप प्रभावकारी बनाउन सकिने विषयमा प्रकाश पार्नुभयो।
सहजीकरणका क्रममा उहाँले सहकारी संस्थाहरूमा युवाको उपस्थिति केवल सदस्यतामा सीमित नभई नीति निर्माण, व्यवस्थापन तथा नेतृत्व तहमा समेत सुनिश्चित हुनुपर्ने धारणा राख्नुभयो। उहाँले वर्तमान समयमा सहकारी क्षेत्रले भोगिरहेका विभिन्न चुनौतीहरूको सामना गर्न नवप्रवर्तनशील सोच, प्रविधिमैत्री कार्यशैली र ऊर्जावान नेतृत्व आवश्यक रहेको बताउँदै त्यसका लागि युवाहरूलाई अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका प्रमुख व्यक्तित्व तथा जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारी आन्दोलनको भविष्य युवाको हातमा रहेको बताउनुभयो। उहाँले सहकारी संस्थाहरूमा पुस्तान्तरणको विषय अहिले महत्वपूर्ण बहसको विषय बनेको उल्लेख गर्दै अनुभवी नेतृत्व र युवा पुस्ताबीचको सहकार्यबाट मात्र सहकारी अभियानलाई थप सुदृढ बनाउन सकिने धारणा व्यक्त गर्नुभयो।
अध्यक्ष श्रेष्ठले सहकारी क्षेत्रलाई प्रविधिमैत्री, पारदर्शी र सदस्यमुखी बनाउन युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै युवा नेतृत्व विकासका लागि जिल्ला सहकारी संघले आगामी दिनहरूमा पनि विभिन्न कार्यक्रम, तालिम तथा क्षमता विकासका गतिविधिहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवाहरूलाई सहकारीको सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात् गर्दै संस्थागत विकासमा अग्रसर हुन आग्रह गर्नुभयो।
कार्यक्रमका सहभागीहरूले तालिम अत्यन्त उपयोगी, ज्ञानवर्द्धक तथा प्रेरणादायी रहेको प्रतिक्रिया दिएका थिए। सहभागीहरूले सहकारी क्षेत्रमा नेतृत्व विकास, व्यक्तिगत क्षमता अभिवृद्धि, प्रभावकारी सञ्चार र संस्थागत व्यवस्थापन सम्बन्धी विषयमा नयाँ ज्ञान तथा अनुभव प्राप्त भएको बताएका थिए। साथै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै आगामी दिनमा अझ विस्तृत तथा विषयगत तालिमहरू सञ्चालन गर्न सुझाव दिएका थिए।
कार्यक्रमको समापन गर्दै युवा समन्वय उपसमितिका संयोजक तथा कार्यक्रम सभापति रोशन कुमार श्रेष्ठले सहकारी अभियानलाई नयाँ पुस्तासम्म विस्तार गर्न र युवालाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई सहभागीहरूले आफ्ना-आफ्ना सहकारी संस्थामा व्यवहारिक रूपमा कार्यान्वयन गरी संस्थाको विकास तथा सुशासन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो।
उहाँले सहकारी आन्दोलनको दीर्घकालीन सुदृढीकरणका लागि युवा सहभागिता वृद्धि, नेतृत्व हस्तान्तरणको तयारी तथा क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी गराउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी, सहजकर्ता तथा आयोजक टोलीप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो।
सहकारी क्षेत्रमा युवा नेतृत्व विकास, संस्थागत सुशासन प्रवर्द्धन तथा भावी नेतृत्व निर्माणमा केन्द्रित उक्त अन्तरक्रियात्मक तालिम कार्यक्रमले सहभागीहरूमा सकारात्मक ऊर्जा, नयाँ सोच तथा नेतृत्वप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गरेको आयोजकको निष्कर्ष रहेको छ।

