म्याग्दीमा हिमपातबाट प्रभावित ७२ पर्यटकको उद्धार

 

म्याग्दी — म्याग्दीको अन्नपूर्ण आधार शिविरमा हिमपातका कारण फसेका १७ विदेशीसहित ७२ जना पर्यटकलाई सुरक्षाकर्मीले उद्धार गरेका छन्। सोमबार रातिदेखि लगातार परेको वर्षा र हिमपातले पदमार्ग अवरुद्ध भएपछि उनीहरू फसेका थिए।

बिज्ञापन

शसस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको नेतृत्वमा गएको संयुक्त टोलीले सबै पर्यटकलाई डोरीको सहायताले उद्धार गरी बिहीबार बिहान हुमखोला झारेको प्रमुख प्रहरी नायब उपरीक्षक लिलाबहादुर भुजेलले जानकारी दिए।

यस्तै, धौलागिरि क्षेत्रमा ‘हिडन भ्याली’मा समस्यामा परेका तीन जना बेलायती महिला पर्यटकसहित १२ जना नेपाली पथप्रदर्शक र मजदुर उद्धारका लागि सेना, सशस्त्र र जनपद प्रहरीको टोली परिचालन गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बताए।

म्याग्दी प्रशासनले आगामी कात्तिक १४ गतेसम्म अन्नपूर्ण आधार शिविर भ्रमणमा अस्थायी रोक लगाएको छ।