ढुंखर्क – बेथानचोक गाउँपालिकाले दीपावलीमा घर सजावटका लागि खेतबारीमा फूलेका सयपत्री लगायतका फूलहरुको प्रयोग गर्दै प्लाष्टिकजन्य सजावटका सामग्रीको प्रयोग नगर्न आग्रह गरेको छ । आफ्नो बस्तीलाई वातावरणमैत्री बनाउन र स्थानीय स्तरमा फुलेका फूलको प्रयोग गर्न गाउँपालिकाले सूचनामार्फत आग्रह गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो ।




बिहीबार एक सूचना जारी गर्दै बेथानचोक गाउँपालिका क्षेत्रभित्र घर, पसलहरु सजाउनको निम्ति प्रयोग हुने प्लाष्टिकको विभिन्न फूलमाला तथा सजावटका सामानहरु किनबेच बढ्दै गएकोप्रति यस गाउँपालिकाको ध्यानाकर्षण भएको भन्दै यस्ता प्लाष्टिकजन्य सजावटका सामान बिक्री वितरण तथा प्रयोग निरुत्साहित गर्नु वातावरणमैत्री कार्य समेत हुने भएकाले प्लाष्टिकजन्य फूलमाला तथा सजावटका सामग्री प्रयोग नगरी खेतबारीमा फूलेका सयपत्री लगायतका फूलहरुको प्रयोग गर्न गाउँपालिकाबासीलाई आग्रह गरेको छ ।
फोहोर व्यवस्थापन गाउँपालिकाबासीको साझा दायित्व भएकोले यसमा सबैको साथको आवश्यक रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताउनुभयो । कानूनले स्थानीय तहलाई सुम्पिएको जिम्मेवारीलाई वोध गरी उत्तरदायित्व बहन गर्नको लागि यो अभियान सुरु गरिएको र भावी दिनहरुमा पनि यस प्रकारका वातावरण मैत्री कार्यमा गाउँपालिकाबासीसँग हातेमालो गर्दै अढि बढ्दैजाने उहाँले स्पष्ट पार्नुभयो ।