काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ९ मा जन्मिनु भएको ई. जेन्दी बादे श्रेष्ठ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (CTEVT) को आंगिक शिक्षालय पनौती प्राविधिक शिक्षालयको शिक्षालय प्रमुख हुनुहुन्छ। जनक बहादुर बादेको नाती, पिता सुजेन्द्र बादे र माता पुन्यश्वरी बादेको कोखबाट जन्म लिएको जेन्दी बादे २२ वर्षदेखि शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । Khwopa Engineering College बाट Bachelor in Computer Engineering र NCIT बाट Master in Computer Engineering गरेको बादेले २०५८ सालमा काभ्रे मा.बि. बनेपा बाट शिक्षण पेशाको सुरुवात गरेको बताउनु भयो ।
विभिन्न समयमा काभ्रे मा.बि.पनौती, आजाद मा.बि, ज्ञानकुन्ज कलेज, रामभक्त मेमोरियल स्कुल, बेलर, निस्ट कलेज जस्ता शिक्षण संस्थाहरुमा शिक्षक देखि क्याम्पस प्रमुख सम्मको जिम्मेवारी समालेको लामो अनुभव उहाँसँग रहेको छ । २०६५ मंसिरमा नेपाल बनेपा बहुप्राविधिक शिक्षालयबाट विभागीय प्रमुखको रुपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (CTEVT) मा सेवा शुरुवात गरेको बादेले २०७८ कार्तिक देखि पनौती प्राविधिक शिक्षालयको शिक्षालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले पनौती प्राविधिक शिक्षालयको शिक्षालय प्रमुख ई. जेन्दी बादे श्रेष्ठसँग गरिएको समसामयिक कुराकानी :
० पनौती प्राविधिक शिक्षालयमा शिक्षाको अवस्था ? विद्यालयको अवस्था कस्तो छ ?
पनौती प्राविधिक शिक्षालयको स्थापना बि.स.२०५५ मा फ्रेन्च निवासी प्राज्ञ तथा राजनितिज्ञ श्री रोवर्ट ल फलले गरेका थिए। २०६० भाद्रसम्म France-Nepal Brie Panauti Association को सहयोगबाट शिक्षालय संचालन भईरहेको थियो। त्यस पछाडि भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको आंगिक शिक्षालयको रूपमा यो शिक्षालय संचालनमा छ। यस शिक्षालयमा प्रशिक्षार्थीहरूलाई केन्द्रित बनाई शिक्षण क्रियाकलाप गर्दै सैद्धान्तिक सिकाई भन्दा पनि प्रयोगात्मक सिकाईलाई बढी जोड दिइन्छ । सुविधायुक्त SMART कक्षाकोठा, रमणिय-शान्त बातावरण, पर्याप्त मात्रामा शैक्षिक सामाग्री, दक्ष प्रशिक्षक, प्रयोगात्मक शिक्षण सिकाई भएकाले प्रशिक्षार्थीहरूलाई शिक्षण सिकाईमा सहज वातावरण भएको छ।
० प्राविधिक शिक्षाको महत्व बारे बताइदिनु होस न ?
कोरा सैद्धान्तिक ज्ञान र उच्च तहको शैक्षिक योग्यताले मात्र कुनैपनि व्यक्तिले रोजगार भई आफ्नो सुनौलो भविष्यका लागि रोजगार उन्मुख शिक्षा र व्यावसायिक तालीम दिई सीपयुक्त जनशक्ति तयार गर्न प्राविधिक शिक्षालयहरुको स्थापना भएको हो। बैदेशिक रोजगार बजारमा प्रवेश पाउनका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम एक सहज माध्यम हो । प्राप्त गरेको सिपको प्रयोगले स्वरोजगार भइ रोजगार सिर्जना गर्न सक्छ। बिकसित मुलुकहरुको तथ्यांक हेर्ने हो भने सीपयुक्त ७०% जनशक्ति उच्च आयको रोजगारीमा छन्।
“शिक्षा विकासको ढोका हो भने प्राविधिक शिक्षा बिकासको मूल ढोका हो।” सीपयुक्त दक्ष जनशक्ति नै बिकासको प्रमुख श्रोत हो। प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमले गरीबी र बेरोजगारी कम गराई आर्थिक बिकासको राष्ट्रिय लक्ष्य हासिल गर्न टेवा पुर्याउने तथ्य छ | यस्तो शिक्षाले ब्यक्तिलाई बोली खाने भन्दा गरि खाने बनाउँदछ |
विश्वका कतिपय राष्ट्रहरूको दाँजोमा हाम्रो देश नेपाल रोजगारीको अवसरको दृष्टिको पछाडी परेको छ। धेरै जसो नेपाली वेरोजगार छन् कतिले रोजगार पाएका छन् ति पनि पूर्णकालिन नभई आंशिक छन् र तिनीहरूको आय कम छ भने जीवनस्तर राम्रो हुने कुरै भएन। मानिसले आफूलाई पूर्ण रोजगार बनाउन नसक्नुको एउटा कारण प्राविधिक शिक्षाको कमी हो। यदि व्यक्तिहरूमा प्राविधिक ज्ञान छ भने उसले विना काम समय खेर फाल्नु पर्दैन। आज विश्वका विकसित देशहरूमा त्यहाँका प्राविधिक जनशक्ति नै विकासको कारक बनेको देखिन्छ। त्यसै गरी जनुजुन राष्ट्रमा प्राविधिक जनशक्तिको कमी छ ती देशहरू पछि परेका छन्। त्यसैले हरेक दृष्टिकोणबाट प्राविधिक शिक्षाको अति महत्वपूर्ण छ।
० यस प्राविधिक शिक्षालयमा कुन कुन विषयमा अध्ययन अध्यापन हुन्छ?
पच्चीस बर्ष लामो इतिहास बोकेको यस शिक्षालयमा स्थापनाकालदेखि अटोमोबाइल इन्जिनियरिङ्गसँग सम्बन्धित कार्यक्रमहरु संचालनमा छन्। हाम्रा प्रशिक्षण कार्यक्रमहरूको OJT को लागि ५० भन्दा बढी अटोमोवाइल्स कम्पनी/उद्योग/संस्थाहरूसँग सहकार्य भएको कारणले दीक्षित प्रशिक्षार्थीहरूले सहज रूपमा रोजगारी पाईसकेका छन्। जसमा यस पनौती प्राविधिक शिक्षालयमा निम्नानुसार कार्यक्रमहरु सञ्चालित छन्:
१ डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ्ग –
यस शिक्षालयले शैक्षिक वर्ष २०७७ देखि ३ वर्ष अवधिको डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ्गमा पठनपाठन शुरू गरेको छ। यसको मद्दतले अटोमोवाइल सेक्टरमा मध्यमस्तरीय सीपयुक्त जनशक्ति उत्पादन भई नेपाली श्रमबजारमा अटोमोबाइलको विकासमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
२ प्रि-डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङः- प्रि-डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ्ग कोर्ष १८ महिनामा सम्पन्न हुन्छ। १८ महिना मध्ये १५ महिना शिक्षालयमा प्रयोगात्मक सिकाईबाट सीप सिक्दछन भने बाँकी ३ महिना अटोमोबाइल उद्योग/व्यवसायमा गई कार्यस्थलको (On-the-Job) तालिम गर्दछन ।
३ प्रि-डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ्ग, अप्रेन्टिसिपः- यस कार्यक्रमको जम्मा समयाबधि २४ महिनाको हुन्छ। २४ महिना मध्ये पहिलो ३-४ महिना शिक्षालयका प्रशिक्षकहरूको निगरानीमा आधारभूत सीपहरू सिक्छन्। त्यसपछिको १९ महिना सम्वन्धित पेशाका उद्योग/व्यवसायमा गई बरिष्ठ कामदारको (प्रशिक्षक) निगरानीमा निरन्तर सीप सिक्नेछन, यस अवधिभर प्रत्येक हप्ताको १ दिन शिक्षालयमा आउनुपर्छ जसले गर्दा उद्योग/व्यवसायमा सीप सिक्दा आएका समस्याहरूलाई समाधान गर्न मद्धत गर्दछ। अन्तिमको १ महिना प्रशिक्षार्थीहरू पूर्ण रूपमा शिक्षालयमा आई अन्तिम परीक्षाको लागि तयारी गर्दछन्। यस्तो सिकाईलाई उद्योग/व्यवसाय र शिक्षालयमा दुवैतिर नियमित रूपमा सीप सिक्ने भएकोले Dual-VET सिकाई पद्दती पनि भनिन्छ। यो कार्यक्रम नि:शुल्क हो साथै दैनिक ७५ रुपैयाका दरले प्रशिक्षार्थीहरुले खाजा खर्च र न्यूनतम श्रमिकको तलबको कम्तीमा २५% पनि पाउँछन् |
४ प्रि-डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ्ग,विशेष छात्रवृत्ती कार्यक्रमः- नेपाल सरकारले देशभरका विपन्न, दलित र मुस्लिम समुदायका छात्रछात्राहरूलाई निःशुल्क पठनपाठन लागि विद्यार्थी भर्ना गरिन्छ । यो कार्यक्रमका प्रशिक्षार्थीहरूले निर्बाह भत्ता मासिक ३५०० र छात्राबासको सुबिधा पनि पाउँछन् |
० प्रशिक्षक तथा प्रशिक्षार्थी प्रोत्साहन कार्यक्रम ?
प्रशिक्षकहरुलाई प्रोत्साहन स्वरूप समय समयमा क्षमता अभिवृद्धिका लागि बिभिन्न तालीमहरु जस्तै: Instructional Skills – I, Instructional Skills-II, Academic Counseling, Management and Leadership Training, Occupational Skills Upgrading, TOT मा सहभागीताको साथै उच्च शिक्षा अध्ययन गर्न अवसर दिईन्छ । बार्षिक रूपमा परिषदद्वारा परिषद्को वार्षिकोत्सवमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत पनि गरिन्छ । प्रशिक्षार्थीको हकमा प्रत्येक समुहमा प्रथम स्थान हासिल गर्ने प्रशिक्षार्थीलाई जेहेन्दार छात्रवृत्ति प्रदान गरिन्छ साथै अन्य विभिन्न खालका छात्रवृत्ति (जस्तै : वर्गीकृत छात्रवृत्ति, सहुलियत शुल्क छात्रवृति) हरुको पनि व्यवस्था छ ।
० प्राविधिक शिक्षालयलाई नतिजामुखी बनाउन र एउटा आकर्षणको केन्द्र बनाउन के कस्ता योजना छन् ?
कुनै पनि शिक्षा भनेको बजारको माग अनुरुप हुनुपर्छ । यस शिक्षालयमा प्रशिक्षार्थी लाई सीप सिकाउँदा पाठ्यक्रम सँगसँगै बजार मागलाई पनि ध्यान दिईन्छ । उदाहरणको लागि अहिलेको पाठ्यक्रममा Electric Vehicle समावेश नभएता पनि बजारको मागलाई मध्यनजर गर्दै हामीले EV संग सम्बन्धित Tools/Materials/Equipment हरूको व्यवस्था गरेर सिकाउने गरेका छौ । बिभिन्न अटोमोबाइल कम्पनी र अटोमोबाइल ब्यवसायी संघहरूसँग सहकार्य गर्दै सिकाइलाई अगाडी बढाएका छौँ । साथै पर्यावरण प्रदुषण गर्ने कारक मध्य एउटा कारक अटोमोवाइल सेक्टर पनि हो। त्यसैले हामीले Green Curriculum को Develop गरी हाम्रो कारणबाट हुन सक्ने पर्यावरण प्रदुषणलाई कम गर्ने योजना बनाउँदै छौँ।
नयाँ प्रबिधिहरू प्रयोग गर्दै शिक्षण सिकाइलाई अगाडी बढाएका छौँ । Field Visit, Excursion, Guest Lecture, Industrial Exposure, On the Job Training जस्ता क्रियाकलापले प्रशिक्षार्थीहरूको सीपमा निखारता ल्याएको छ । दीक्षित प्रशिक्षार्थीरूलाई रोजगार, स्वरोजगार तथा उद्यमी बनाउने लक्ष्य सहित Business Incubation Center र Production Unit हरू स्थापना गरी अगाडी बढ्दैछौँ।
त्यसै गरी पनौती नगरपालिका तथा विभिन्न संघसंस्थाहरूको परामर्श अनुसारका तालिमहरू सञ्चालन र सहकार्य गर्दै आएका छौँ। यसरी नै घरघरमा प्राविधिक र हरेक नेपालीलाई सीप र रोजगर दिने उद्देश सहितको योजना बनाई अगाडी बढिरहेका छौँ।
० अन्त्यमा के भन्न चाहनुहुन्छ ?
शिक्षालाइ सीपसँग, सीपलाई श्रमसँग, श्रमलाइ रोजगारीसँग र रोजगारीलाई उत्पादनसँग जोड्ने शिक्षा भनेकै प्राविधिक शिक्षा हो तसर्थ आफ्नो, समाजको र समग्र देशकै आर्थिक एवं सामाजिक उन्नतीका लागि प्राविधिक शिक्षा अध्ययन गरौँ, सीप सिकौँ, दक्ष बनौँ । दक्षता हासिल गर्न पनौती प्राविधिक शिक्षालय रोजौ, हामी तपाईहरूलाई स्वागत गर्न र सेवा गर्न हरदम तयार छौँ ।
साथै तपाईको प्रतिष्ठित पत्रिकामा पनौती प्राविधिक शिक्षालय तथा प्राविधिक शिक्षा सम्बन्धमा मेरो केही अभिव्यक्तिहरू राख्न मौका दिनु भएकोमा शिक्षालय र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..