काभ्रेपलाञ्चोक – नेपाली लोकगीत संगीतको उर्वर भुमीको रुपमा पहिचान कमाएको बाग्लुङ जिल्लामा जन्मिएकी रसाईली विगत १५ वर्ष देखी निरन्तर रुपमा नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेकी छिन् । नेपाली लोक तथा दोहोरीको साथमा सालैजो, कौडा, पञ्चेवाजाको भाकामा गीत गाउँदै आफ्नो बालापन विताएकी रोशनीले आफ्नो शिक्षा संगै गायन क्षेत्रलाई पनि अघि बढाएकी थिईन । पश्चिमाञ्चल क्षेत्रको विशेष गरेर कास्की, बाग्लुङ, स्याङ्जा, पर्वत, तनहु, लम्जुङ जिल्लाहरुका गाउहरुमा आज पनि रोधी बस्ने चलन रहेको छ । आजका युवाहरु विशेष गरी आफुलाई आधुनिक देखाउने नाममा अन्य देशमा चलेका संस्कृतिहरुलाई अघि बढाउदै गर्ने गरेको पाईन्छ तर बाग्लुङ, स्याङ्जा जस्ता जिल्लाहरुमा आज पनि नेपाली मौलीक संस्कृति रहेको रोधी संस्कार जिवितै रहेको छ । जुन संस्कृति जोगाउनका लागी गायिका रोशनी रसाइली जस्ता युवा कलाकारहरु सक्रिय रहेका छन् । त्यही रोधी संस्कृतिबाट अघि बढेकी गायिका रोशनी रसाईलीसंग उनको गायन यात्रा र सघर्षको वारेमा नवक्ष्तििज साप्ताहिकको लागी अरबिन्द्र गौतमले गरेको कुराकानी 

 

० नेपाली लोकदोहोरी क्षेत्रलाई यहाँले कसरी विष्लेषण गर्नुहुन्छ ?
लोकदोहोरी अर्थात लोक भाका भनेको हाम्रो मौलिक संस्कृति झल्काउने भाका हो । लोकदोहोरी विशेष गरेर आफ्नै गाउँ अनि ठाउँको परिवेश अनुसारको भाका लय हालेर गाउने गरिन्छ । लोक दोहोरी ठाउँ अनुसार फरक ढङ्गले गाइन्छ । मौलीकता बोकेका गीतहरुले हाम्रो आफ्नै मौलिकता, भाषा संस्कृति र भेषभुषालाई बोकेका हुन्छन् । आफ्नै भावहरु आफ्नै मनका कथा व्यथाहरुलाई लय हालेर दोहोरीको तालमा गाईन्छ, जुन गीत, भाका आम मानिसहरुको मन मस्तिस्कमा बस्न सफल भएका हुन्छन् जसले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै पनि नेपालको पहिचान गराउन मद्धत गरेका हुन्छन् । विशेषत लोकको मनमा वस्ने, मस्तिष्क सम्म पुग्ने धुन तथा भाकाहरुलाई लोकदोहोरी हो भन्ने मैले बुझेकी छु ।

० तपाई त रोधि संस्कारबाट हुर्कनु भएकी कलाकार, यो राजधानीमा स्थापित हुनको लागी कत्तिको संघर्ष गर्नुभयो ?
बाग्लुङबाट राजधानी सम्मको यात्रा र राजधानीमा आएर नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा स्थापित हुन पक्कै पनि सजिलो थिएन, त्यसमाथी नेपाली समाजमा महिलाहरुलाई अघि बढ्न हुने विभिन्न किसिमका समस्याहरुका बाबजुद पनि म आज यस ठाउँसम्म आइपुगेकी छु । म यहाँ सम्म आई पुग्न सम्पुर्ण आम श्रोताको मायाले नै हो र यो मेरो लागि सकारात्मक पक्ष हो । मैले काठमाण्डौ आएर धेरै नै संघर्ष गरे गाउँ भन्दा यहाँ धेरै नै फरक हुने रहेछ । पाखा पखेरामा गाउँको जस्तो नहुने हामीले धेरै नै सिक्नु पर्ने रहेछ र व्यक्तिगत रुपमा मैले अझै पनि धेरै कुरा सिक्न बाँकी छ । यो संघर्ष भनेको सिक्दै अघि बढ्ने हो जस्तो लाग्छ । सिकेर कहिल्यै सकिदैन । काठमाण्डौ आएर दुःख सुखको उतार चढाव त छदैछ सधै र दःुख सुख अंगाल्दै यहाँ सम्म आउन सके र अझै संघर्षरत नै छु ।

० पुरुष कलाकारहरुको तुलनामा महिला कलाकारहरुलाई कम पारिश्रमिक दिइन्छ भन्ने सुनिन्छ, यस्तो अनुभव तपाइले गर्नुभएको छ र ?
महिलालाई गीत संगीतमा मात्रै हैन अरु क्षेत्रमा पनि गाह्रो नै छ । त्यही पनि यो क्षेत्रमा लागेपछि अझै झन गाह्रो त हुन्छ नै तर यस्ता कुराहरुलाई मैले कहिल्यै बास्ता गरिन । मलाई यो क्षेत्रमा मद्धत गर्ने दाईहरु हुनुहन्थ्यो मेरै गाउँको दाजु बि.बि अनुरागी, राकेश सोनीहरु सबैले मलाई सहयोग गर्नुभयो । समग्रमा भन्नु पर्दा गायनको क्षेत्रमा लागेर आर्थीक रुपमा म सन्तुष्ट नै छु । मैले पारिश्रमको कुरामा झण्झट भोगेकी छैन ।

० तपाईले आफैले गाउनुभएको कुन गीतबाट बढी सन्तुष्ट हुनुहुन्छ ? र किन ?
मैले वि सं २०६६ सालमा पहिलो पटक “काटी पलायो डाली” बोलको गीत रेकर्ड गराएकी थिए । दोहोरी विधामा रेकर्ड गराएको उक्त गीतमापुरुष स्वरमा कृष्ण जी.सी.ले साथ दिएका थिए भने शब्द तथा लय पनि जी.सी.कै रहेको थियो । सोही गीतबाट मैले त्यो बेला राम्रो चर्चा कमाउन सफल भएको थिए । अडियो क्यासेटमा बजारमा आएको उक्त गीतले त्यतिवेला राम्रो व्यवसाय गर्न सफल भएको थियो । मेरो पहिलो गीत गीतले त्यति ठुलो श्रोताको माया पाउँदा म अत्यत्नै खुशी भएकी थिए ।

 

० तपाई विवहित मान्छे परिवार र गायन क्षेत्रको तालमेल कसरी मिलाउनु हुन्छ ?
२०६८ सालमा मेरो श्रीमान रमेश शिवशंकरसंग विवाह गरेपछि मैले आफ्नो श्रीमान कै सहयोग, साथ र समर्थनमा नेपाली सांगीतिक क्षेत्रमा अझै थप सक्रिय हुने मौका पाएँ । नेपाली समाज विवाहिता महिलालाई गीत संगीतको क्षेत्रमा काम गर्नको लागी त्यती सहज भने पक्कै पनि छैन । धेरै गायिकाहरुले विवाह पश्चात आफ्नो पेशा छाडेर एउटा साधारण गृहणीको रुपमा रहने गरेको तितो यथार्त भने मेरो जिवनमा लागु भएको छैन । मलाई मेरो श्रीमानले हरपल साथदिइ रहनुभएको छ । गीत गाउन विभिन्न सांगीतिक कार्यक्रमहरुमा सहभागी हुन सदैव प्रोत्साहन गर्ने गरेको गर्नुभएको छ । म मन भरि गायिका बन्ने सपना बाँडेर गाउँबाट राजधानी आएको थिए, मेरो सपना पुरा गर्नको लागी मेरो श्रीमानले सदैव मलाइई साथ दिनु भयो, यो मानेमा म अत्यन्तै भाग्यवानी श्रीमती हुंँ, हर कोहीलाई यस्तो साथ समर्थन नहुन पनि सक्छ, म कामना गर्दछु हरेक श्रीमानले आफ्नो श्रीमतीलाई अगाडी बढाउनको लागी सदैव अग्रसर रहुन र समाजको लागी एक उच्च प्रेरणादायी पुरुषको रुपमा स्थापित रहुन ।

० तपाईको विचारमा आम मानिस र कलाकारहरुको जिवनमा फरक के रहेछ ?
कलाकार भनेको समाजको एउटा ऐना हो । जसमा हेरेर मान्छेले आफ्नो अनुहार वा लुगा कपडा अर्थात आफ्नो परिवर्तन गर्दछ । त्यस्तै एउटा कलाकारले समाजको कला संस्कृति र संस्कारलाई बोकेर हिडेको हुन्छ । उसले जस्तो कला संस्कृति आफ्नो आवाज अर्थात दृश्यमार्फत दर्शक श्रोतामाझ पस्कन सक्यो समाजले पनि त्यहि किसिमको कला संस्कृतिलाइ अंगीकार गर्ने भएकोले एउटा कलाकारले अनुशाशित र मर्यादित भएर समाजको कल्चरलाई बोक्नु पर्ने हुन्छ जस्तो लाग्छ । आम मानिस र एउटा कलाकारमा धेरै फरक छ । एउटा कलाकारले समाज र राष्ट्रको लागि बाँच्नु पर्ने हुन्छ भने आमा मानिस त अव आफ्नो दैनिकी अथाव भनौन आफ्नो सुखदुःख र घर परिवारको लागि बाँच्छ जस्तो लाग्छ । यदि म कलाकार थिईन भने मेरो आफ्नै सानो परिवार हुनथ्यो म त्यहिमा रमाई रहेकी हुन्थे हुँला, कलाकार भई सके पछि हरेक लवाई खुवाई बोली व्यवहार र चाल चलनमा ध्यान दिनु पर्ने हुन्छ आम मानिस जस्तो साधारण जिवन हुदैन रहेछ ।

० कलाकारमात्रै भएर जिविकोपार्जन सम्भव छ ?
पहिले पहिले एउटा कलाकार राम्रो चलिसके पछि उसले पछाडी जिवनमा फर्केर हेर्नु पर्ने अवस्था आउँदैनथ्यो । त्यो बेला सि.डी क्यासेटहरु विक्रि हुन्थे । गायक÷गायिकाहरुले पनि राम्रै आम्दानी गर्ने गर्दथे, त्यस बेलाको सफल कलाकारको जीवन बाँच्ने कलाकारहरु मध्ये म पनि एक हुँ । तर अहिले समाज आधुनिकता तर्फ गईसकेको छ, कलाक्षेत्रमा पनि धेरै कुराहरुमा परिवर्तन आएको छ । अडियो डिजिटल प्याल्ट फर्म, यूटुद्यव, मेलामहोत्सव, विभिन्न साँस्कृतिक कार्यक्रमहरुले पनि कलाकारहरुलाई पहिलेको तुलनामा आर्थिक रुपमा सवल बनाउन उल्लेख्य भूमिका खेलेको मलाई लाग्छद । मलाई व्यक्तिगत रुपमा भन्ने हो भने गायन पेशावाट एउटा गायक वा गायिका ईमान्दार पुर्वक काम गर्ने हो भने वाँच्न सक्दछ ।

० अन्त्यमा ?
नेपाली मौलिक, कला, संस्कृति तथा संस्कार हाम्रा अमुल्य निधि हुन् यिनिहरुलाई जोगाउनु आज हामी सवैको कर्तब्य हो । त्यसैले म तपाई सम्पुर्ण आदरणियहरुसंग कामना गर्दछु कि सवै मिले र हाम्रो नेपाली मौलिक कला संस्कृतिको जर्गेना गरौ । नेपाली लोकगीतलाई माया गरौं भन्न चाहान्छु ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..