काभ्रे/ नेपाली कांग्रेसको पालिका अधिबेशनअन्तर्गत १३ पालिका रहेको काभ्रेमा १२ वटा पालिकामा नेतृत्व (सभापति) चयन भएको छ । तीमध्ये सात पालिकामा सर्वसम्मत, पाँच पालिकामा निर्वाचनबाट नेतृत्व चयन भएको हो ।

काँग्रेस अधिबेशन काभ्रेका लागि निर्वाचन अधिकृत राजेन्द्र लामिछानेका अनुसार महाभारत गाउँपालिकामा अधिबेशन स्थागित भएका छन् । उनले सर्वसम्मत तथा निर्वाचन दुवैमा शिवप्रसाद हुमागाई र मधु आचार्य पक्षबिच सहमति नहुँदा अधिबेशन अनिश्चितकालको लागि स्थगित भएको बताए ।

नेपाली काँग्रेस जिल्ला पार्टी काभ्रेका सचिव दिनेश लामाले पनौती नगरपालिकाबाट रामशरण भण्डारी, पाँचखालबाट सन्जय लामा, नमोबुद्धबाट कुन्साङ लामा, खानीखोला गाउँपालिकाबाट दोर्जेमान जिम्बा, रोशीबाट दुधराज लामा, चौरीदेउरालीबाट शेरबहादुर तामाङ र भुम्लु गाउँपालिकाबाट दावा लामा सर्वसम्मत सभापतिमा निर्वाचित भएको बताए ।

सचिव लामाका अनुसार मण्डनदेउपुर नगरपालिका, बनेपा, धुलिखेल, तेमाल गाउँपालिका र बेथानचोक गाउँपालिकामा निर्वाचन भएका छन् । जसमा मण्डनदेउपुर नपामा कश्यपप्रसाद पौडेल एक सय १६ मतसहित विजय भएको छ । जम्मा दुई सय २३ मत खसेकोमा पौडेलले प्रतिस्पर्धी रामहरि सापकोटा (१०६) लाई १० ले पराजित गरेका हुन् ।

धुलिखेल नगरपालिकामा विदुर बस्नेतले प्रतिस्पर्धी मन्जुकुमार कोजुलाई २९ मतले पराजित गरेका छन् । दुई सय १५ मत खसेकोमा बस्नेतले एक सय २२ र कोजुले ८५ मत प्राप्त गरेकामा ८ मत बदर भएका छन् ।

बनेपामा दुई सय ५९ मत खसेकोमा महेश कर्माचार्य १ मतले सभापति निर्वाचित भएका छन् । कर्माचार्यले एक सय ३० र प्रतिस्पर्थी शान्ति रत्न शाक्यले एक सय २९ मत प्राप्त गरेका थिए ।

त्यस्तै तेमाल गाउँपालिकामा ज्ञानबहादुर लामा भारी मतले विजय भएका छन् । जसमा एक सय ६२ मत खसेकोमा लामाले एक सय ४४, प्रतिस्पर्धी हेमलाल तामाङले १४ मत प्राप्त गरेका थिए भने ४ मत बदर भएको थियो । त्यसैगरी काँग्रेस जिल्ला पार्टी कार्यालय काभ्रेले बेथानचोक गाउँपालिकामा प्रेमबहादुर तिमल्सिना विजय भएको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

काँग्रेस खानीखोलाको सभापतिमा दार्जेमान, महाभारतमा स्थगित

पालिकामा हुमागाईं पक्षको बर्चस्व
काभ्रे काँग्रेसको पालिका अधिबेशनमा पूर्व जिल्ला सभापति तथा केन्द्रिय सदस्य शिवप्रसाद हुमागाई पक्षले बर्चस्व कायम राखेको छ । पालिका अधिवेशनबाट पूर्व सभापति हुमागाई प्यानलले स्पष्ट बहुमत हासिल गरेका हुन् ।

निर्वाचन भएकोे १२ पालिकामध्ये पाँचखाल, मण्डनदेउपुर नगरपालिका र खानीखोला गाउँपालिका गरी तीन पालिकामा जिल्ला सभापति मधु आचार्य पक्षले जितको छ भने बाँकी ९ वटा पालिकामा काँग्रेस केन्द्रिय सदस्यसमेत रहेका शिवप्रसाद हुमागाईं पक्षले जितेका छन् ।

असोज ५ गते सकिएको वडा अधिवेशनबाटै हच्केको आचार्य पक्षले पालिका अधिवेशनको पूर्वसन्ध्या शुक्रबार अधिवेशन नहुने भन्दै प्रोपोगाण्डा समेत मच्चाएको थियो ।

केन्द्रमा आचार्य कृष्णप्रसाद सिटौला र हुमागाईं रामचन्द्र पौडेल निकट मानिन्छन् । काभ्रेमा तिर्थ लामा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिए पनि जिल्लामा कुनै पालिकामा सभापति जित्न सकेन । लामा पक्ष सभापति आचार्यसँग मिलेर अधिबेशनमा सहभागी भएको थियो ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र