


काठमाडौं । काव्य म्युजिक सेन्टरद्वारा आयोजना हुने ‘५ औँ काव्य म्युजिक अवार्ड–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ ।


नेपाली गीत, संगीत तथा साहित्य क्षेत्रमा योगदान पुर्याएका स्रष्टा र कलाकारलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।


आगामी जेठ २३ गते शनिबार नेपाल चलचित्र विकास बोर्डमा आयोजना हुने कार्यक्रममा विभिन्न विधाका कलाकार, सर्जक तथा संगीतकर्मीलाई अवार्ड तथा विशेष सम्मान प्रदान गरिनेछ ।
कार्यक्रम व्यवस्थापक रमेश श्रेष्ठले नेपाली कला, संगीत र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा काव्य म्युजिक अवार्डले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले भने, “प्रतिभाशाली कलाकारलाई सम्मान गर्दै नयाँ पुस्तालाई सिर्जनात्मक क्षेत्रमा अघि बढ्न प्रेरणा दिनु हाम्रो उद्देश्य हो ।”
त्यस्तै संस्थाकी अध्यक्ष सुजिता आचार्यले नेपाली संगीत क्षेत्रलाई थप उचाइमा पुर्याउन यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरिन् । उनले भनिन्, “कला र संगीत समाजको आत्मा हो । कलाकारको योगदानको कदर गर्दै उनीहरूलाई हौसला प्रदान गर्नु हाम्रो दायित्व हो ।”
काव्य म्युजिक सेन्टरले हरेक वर्ष आयोजना गर्दै आएको उक्त अवार्ड कार्यक्रम नेपाली संगीत क्षेत्रकै प्रतिष्ठित कार्यक्रमका रूपमा स्थापित हुँदै गएको आयोजकको दाबी छ ।


