निर्देशक राजु श्रेष्ठको निर्देशनमा बन्ने भयो चलचित्र ‘नौ डाँडा काटेर’

काठमाडौं । निर्देशक राजु श्रेष्ठले आफ्नो निर्देशनमा नयाँ नेपाली चलचित्र ‘नौ डाँडा काटेर’ निर्माण गर्ने घोषणा गरेका छन्। कोजाग्रत पूर्णिमाको अवसर पारेर श्रेष्ठले चलचित्रको नाम सार्वजनिक गर्दै नयाँ परियोजनाबारे जानकारी दिएका हुन्।
सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता अनिल कुमार बुढाथोकी हुन् भने ईश्वर बल्लभ उप्रेतीले कार्यकारी निर्माता रहेका छन् । त्यस्तै, चलचित्रको लाइन प्रोड्युसरका रूपमा सुरज कुमार रहनेछन्।
चलचित्रको कथा तथा पटकथा रङ्ग पत्रकार एवं फिल्म निर्माता रघुनाथ सापकोटाले तयार पारिरहेका छन्। चलचित्रको शीर्षक सार्वजनिक भएसँगै यसको विषयवस्तु र कथावस्तुबारे दर्शकमाझ चासो बढ्ने अपेक्षा गरिएको छ।
यद्यपि, चलचित्रमा अभिनय गर्ने कलाकार, प्राविधिक टोली, छायांकन तालिका तथा प्रदर्शन मितिबारे निर्माण पक्षले विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।
निर्देशक श्रेष्ठ यतिबेला आफ्नो अर्को चलचित्र ‘कंगाल करोडपति’ को छायांकनमा व्यस्त छन्। उक्त चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको छ। ‘कंगाल करोडपति’ को छायांकन पूर्ण रूपमा सम्पन्न भएपछि मात्रै ‘नौ डाँडा काटेर’ को निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइने श्रेष्ठले जानकारी दिएका छन्।
एक चलचित्रको काम अन्तिम चरणमा पुर्‍याउँदै नयाँ परियोजनाको घोषणा गरेका श्रेष्ठको आगामी चलचित्र ‘नौ डाँडा काटेर’ नेपाली चलचित्र क्षेत्रको अर्को प्रतीक्षित परियोजना बन्ने अपेक्षा गरिएको छ।

बिज्ञापन