

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आतिथ्य व्यवस्थापन सम्बन्धी विशेष तालिम सुरु गरेको छ।

रत्ना होटल विराटनगरको सहकार्यमा वैशाख १० गतेदेखि सञ्चालन भएको उक्त तालिमको उद्घाटन कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी विनोद घिमिरे र होटलकी प्रवन्ध निर्देशक जिना थापाले संयुक्त रूपमा गर्नुभएको हो।


उद्घाटन समारोहमा डिआईजी घिमिरेले तालिमले व्यवहारिक ज्ञान वृद्धि गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता तालिमले प्रहरीलाई सेवाग्राहीमैत्री, अनुशासित र पेशागत रूपमा दक्ष बनाउन सहयोग पुग्ने बताउनुभयो।
कार्यक्रममा प्रवन्ध निर्देशक थापाले होटल तथा पर्यटन क्षेत्रको अनुभव प्रहरीसँग साझा गर्न पाउँदा खुशी लागेको बताउँदै यसले प्रहरी सेवामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।


