काभ्रेपलाञ्चोक , गायिका सरिता भारती पछिल्लो समयको व्यस्त गायिका हुन् । गायनमा बिगत आधा दशक भन्दा लामो समयदेखि सक्रिय रहँदै आएकी उनले यो अबधिमा डेढ दर्जन गीतहरु आफ्नो स्वरमा दर्शकश्रोता माझ ल्याईसकेकी छिन् । उनी मुलत लोक गायिका गायिक हुन् । आफुलाई लोक गायनमा स्थापित गरे पनि उनी सबै प्रकारका गीत गाउँछिन् । लोक र लोकदोहोरीसँगै आधुनिक, पप, लोकपपहुँदै चलचित्रको गीत पनि उनले गाएकी छिन् । उनी स्टेजमा पनि त्यत्तिकै राम्ररी गीत प्रस्तुत गर्छिन । आफ्नो गीतको भिडियोमा आफैं कलाकारको रुपमा प्रस्तुत हुने यी गायिकासँग नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले गरेको बिशेष कुराकानी      

तपाई गायन क्षेत्रमा कसरी आउनु भयो ?
म बाल्यकाल देखि नै गीत गाउँथे । मैले गीत गाएपछि सबैले राम्रो गायौ तिमीले भनेर स्यावासी दिनुहुन्थ्यो । अरुले राम्रो गायौ भनिदिँदा म झन फुर्किएर जानी नजानी अझै धेरै गीत सुनाउँथे । राम्रो गीत गायौ भान्जी भनेर मायाले चकलेट तथा पैसा दिनु हुन्थ्यो । मिठो गीत गाएपछि चकलेट सहित पैसा पनि पाईने भएपछि म नयाँ गीत खोजी खोजी गाएर अभिभावकहरुलाई सुनाउँथे । आफन्तले गायनको लागि गरेको त्यो प्रोत्साहनले म बाल्यकाल देखि नै गायनमा आकर्षिक भएकी हुँ ।

त्यतिबेला कस्तो प्रकारको गीत गाउनु हुन्थ्यो ?
म गोरखाको पालुङटार नगरपालिका मिरकोट निवासी भएकाले त्यो भेकमा त्यतिबेला पश्चिमेली गीतहरु बढी चल्यो । म यस्ता गीतहरु टपक्क टिपेर सुनाउँथे । मेरो अर्को विशेषता भनेको रेडियोमा बज्ने गीतहरु पनि कण्ठ गरेर आफन्त तथा साथी संगीलाई सुनाउने गर्थेँ । सोही कारण त्यतिबेला मलाई विवाह, सत्यनारायणको पुजालगायतका कार्यक्रममा बोलाएर सबैले गीत गाउन लगाउँथे । ७ वर्षको उमेरमा मध्यरातसम्म बसेर मैले कडा दोहोरी गाएपछि बुबाले गाली गर्दै बोकर घरमा लगेको स्मरण अझै ताजै छ । त्यतिबेला मैले दाई र अँकलका उमेरका केटाहरुसँग दोहोरीमा प्रतिस्पर्धा गरेर हम्मे हम्मे पार्थेँ ।

त्यतिबेला गीत गाएरै त्यस्तो पुरस्कारहरु केही जितेको स्मरण छ ?
पक्कै छ । म कक्षा ७ मा पढ्ने क्रममा जिल्ला स्तरीय अन्तर विधालय प्रतियोगितामा उत्कृष्ट भएको थिएँ । त्यतिबेला १७ वटा माध्यामिक विधालयहरु बीचका विधार्थी वीच प्रतिस्पर्धा चलेको थियो । सबैलाई उछिनेर म उत्कृष्ट भएको थिएँ । जसबापत एक एक दर्जन कलम कापी र केही नगद प्राप्त गर्दा निकै खुसी भएको थिएँ । स्कुले पढ्ने क्रममा ९ कक्षासम्म म निरन्तर दोहोरी गायनमा लागेँ । दोहोरी सम्बन्धि हरेक प्रतियोगितामा कुनै न कुनै पुरस्कार जित्ने गरेको थिएँ । यता एसएलसीपछि काठमाडौं आएपछि ललितपुरको वेल हाम्स कलेजमा पढ्ने क्रममा त्यहाँका हरेक कार्यक्रममा मैले गीत प्रस्तुत गर्थेँ । गायनसँगै कार्यक्रम प्रस्तोता पनि म आफैं हुने गर्थे । कलेजका प्रतियोगितामा उत्कृष्ट हुँदै त्यतिबेला रेडियो राजधानीमा पनि गीत गाउने अबसर पाएको थिएँ ।

तपाईंको व्यवसायिक गायन यात्रा कहाँबाट सुरु भएको हो ?
ब्यबसायिक गायनको सुरुवात मेरो स्टेज कार्यक्रमबाट भएको हो । पाटनमा भएको दशैं सम्बन्धि एउटा कार्यक्रममा दोहोरी गीत गाउँदा पहिलो पटक पारिश्रमिक पाएको थियो । यसरी गीत गाउने क्रममा कलेज र रेडियोपछि मैले काठमाडौंमा स्थानीय स्टेज कार्यक्रममा गीत गाउने अबसर पाउँदै गएँ । स्टेजमा राम्रो दोहोरी गाउने भनेर चिनिएपछि मलाई एक पछि अर्को कार्यक्रमबाट गाउने प्रस्ताव आउँदै गयो । सोही क्रममा मैले सांस्कृतिक संस्थानबाट गायन सम्बन्धि डिप्लोमा कोर्ष पनि सम्पन्न गरे । सो क्रममा संस्थानले आयोजना गर्ने कतीपय स्टेज कार्यक्रममा पनि मैले गीतहरु प्रस्तुत गरेँ । सो क्रममा दोहोरी साँझमा पनि मैले ब्यबसायिक रुपमा गीत गाएको थिएँ ।

लोक दोहोरी गायिका भए पनि पहिलो गीत लोकपप गीत रेकर्ड गर्नु भएको रहेछ । कारण के होला ?
मैले बाल्यकाल देखि नै लोक दोहोरी तथा लोक भाकाका गीत गाउँदै आएको थिएँ । सांस्कृतिक संस्थानबाट गायनमा डिप्लोमा गरेपछि सबै प्रकारको गीत गाउने चाहना जाग्यो । सोही क्रममा मैले पहिलो गीत ‘मेरो जवानी…’ आधा दशक अघि लोक पप शैलीमा निकालेकी हुँ । तथापि यो गीत लोक भावकै थियो । त्यसपछि भने मैले लोक तथा लोक दोहोरी शैलीका गीतहरु निकालेँ । जसमा काँठे, पश्चिमेली, देउडा, तीज, दशैं जस्ता विविध प्रकारका रहेका छन् ।

यहाँका गीतिसंग्रह पनि आएका छन हैन ?
हो नी , मेरो जवानी, लुडो र तास, रातो सारी लरक्कै, पहिलो भेटमै, यसपालीको दशैं, हे गाजली, अँधेरीमा थिएँ म, असारे मास (झरी) जस्ता गीति एल्बमहरु पनि निकालिसकेको छु । जस मध्य बहुसँख्यक गीतहरु लोक तथा लोकदोहोरी नै रहेका छन् ।

अहिले नयाँ सृजना केही आउँदै छ की ?
पक्कै आउँदैछ । अहिले चर्चित युवा संगीतकार दीपक शर्माको संगीत तथा राजेन्द्र बजगाईंको संगीत संयोजनमा नयाँ गीत सुनमाया…चाँडै बजारमा आउँदैछ । यस्तै अग्रज संगीतकार जुगल डंगोलको संगीतमा नयाँ गीतको तयारी भईरहेको छ । अरु पनि केही गीतको तयारी भईरहेको छ । जुन एकपछि अर्को गर्दै चाँडै श्रोता दर्शकमाझ आउँदैछ ।

नेपाली संगीतबृत्तमा अरु भन्दा तपाईको फरक विशेषता के हो ?
गायिका भएर पनि आफ्नो गीतको भिडियोमा आफैं अभिनय गर्नुलाई दर्शकले मेरो विशेषता मान्ने गर्नु भएको छ । मेरा सबैजसो गीतको भिडियोमा आफैंले अभिनय गरेको छु । मैले स्टेजमा पनि गायनको क्रममा छमछमी नृत्य गर्न सक्नुलाई पनि दर्शकले फरक ढँगले लिने गर्नु भएको छ । मुलत आफ्नो गीतमा आफैंले अभिनय गर्दा स्वरसँगै अभिनयबाट पनि दर्शकसँग साक्षात्कार हुने हुँदा उहाँहरुले भेटमा सजिलै चिन्ने गर्नु हुन्छ । अनि गायन र अभिनयको प्रसँसा गर्नु हुन्छ । त्यस्तो हुँदा मलाई खुसी लाग्छ ।

अन्तमा ?
तपाई लगायत तपाईको मिडिया लाई धेरै धेरै धन्यवाद ।

 

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.