एक्सप्रेस साकोसको १८औँ वार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न

बनेपा — एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न भएको छ। संस्थाले यही भदौ २३ गते आफ्नै कार्यालय भवनमा वार्षिक साधारणसभा तथा स्थापना दिवस मनाएको हो।

संस्थाका अध्यक्ष ईश्वर केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, कर्मचारी तथा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। सचिव प्रमेश कुमार वैद्यद्वारा सञ्चालित कार्यक्रममा सदस्यहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै संस्थाका गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराइएको थियो।

बिज्ञापन

एकीकरणपछिको पहिलो साधारणसभा भएकाले यस वर्ष निर्वाचनसमेत गरिएको थियो। अधिवक्ता तथा निर्वाचन समितिका संयोजक कमल प्रसाद तिमल्सिनाको संयोजकत्वमा सम्पन्न निर्वाचनबाट ईश्वर केसीको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ। समितिको उपाध्यक्षमा शर्मिला तिमल्सिना, सचिवमा इन्द्र कुमार थापा, कोषाध्यक्षमा प्रेम कुमार लामा तथा सदस्यहरूमा प्रमेश कुमार वैद्य, दिपेश लम्साल र उदय प्रकाश गिरी निर्वाचित भएका छन्।

त्यस्तै, पशुपति लामाको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति पनि निर्विरोध निर्वाचित भएको छ। समितिको सदस्यमा पुजन श्रेष्ठ र सत्यमान लामा रहेका छन्।

निवर्तमान सचिव उद्धव प्रसाद तिमल्सिनाले नव निर्वाचित नेतृत्वलाई शुभकामना दिँदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । उनले वर्तमान परिस्थितिमा समेत एक्सप्रेस साकोसप्रति सदस्यहरूले देखाएको माया, विश्वास र सद्भावप्रति सदस्य, सरोकारवाला निकाय तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरे।

नव निर्वाचित अध्यक्ष ईश्वर केसीले आगामी दिनमा ऐन, नियम तथा विनियमको परिधिभित्र रहेर संस्थालाई थप प्रभावकारी, स्तरीय र दिगो सहकारीका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। सदस्यलाई केन्द्रमा राखेर पूर्ण जिम्मेवारी र जवाफदेहिताका साथ सेवा प्रवाह गर्ने तथा प्रविधिमैत्री सेवामा प्राथमिकता दिने उनले बताए।

संस्थाका अनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म सदस्यहरूको विश्वास र कारोबारमा स्थिरता कायम गर्न संस्था सफल भएको छ। संस्थाको कुल सम्पत्ति तथा दायित्व १७ करोड ७३ लाख ९९ हजार ८२८ रुपैयाँ ३७ पैसा रहेको छ भने शेयर पुँजी १ करोड ७७ लाख ७४ हजार ६०० रुपैयाँ रहेको छ। पल्र्स रिपोर्टअनुसार संस्थाले ३८.९४ प्रतिशत तरलता व्यवस्थापन कायम गरेको जनाएको छ।

त्यस्तै, उक्त आर्थिक वर्षमा संस्थाले ४२ लाख ४३ हजार ३७३ रुपैयाँ १३ पैसा खुद बचत (नाफा) गरेको छ। संस्थाले १४.११ प्रतिशत जगेडा कोषसहित कुल प्राथमिक पुँजीकोष २४.१३ प्रतिशत कायम गर्न सफल भएको जनाएको छ। आर्थिक वर्ष २०८२/८३ मा विभिन्न शीर्षकमार्फत राज्यकोषमा ९ लाख १३ हजार ६३२ रुपैयाँ ५० पैसा कर योगदान गरेको संस्थाले जनाएको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले प्रविधिको बढ्दो प्रयोगसँगै संस्था, सदस्य, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सञ्चारकर्मीहरूले आफ्ना गतिविधिलाई संयमित र सकारात्मक ढंगले अघि बढाउनुपर्नेमा जोड दिए। सकारात्मक सोच र संयमतामार्फत सहकारी अभियानलाई थप व्यवस्थित बनाउन सकिने तथा यसबाट संस्था र सदस्यको सामाजिक, सांस्कृतिक र आर्थिक जीवन सहज हुनुका साथै बजारसमेत चलायमान बन्ने थापाको भनाई थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत थापाले एक्सप्रेस साकोसलाई स्थानीय सदस्यहरूको विश्वास र सद्भावमा आधारित सरल, सबल र सुरक्षित सहकारी संस्थाका रूपमा स्थापित गर्न सदस्यहरूको योगदान महत्वपूर्ण रहेको भन्दै सम्पूर्ण सदस्यप्रति कृतज्ञता व्यक्त गरे।