
काठमाडौँ । नेपाली संस्कृतिको परिचय विश्वमञ्चमा थप फैलाउँदै एभरेस्ट नेपाल कल्चरल ग्रुप ग्रिसबाट स्वदेश फर्किएको छ। ग्रिसको थेसालोनिकी सहरमा हालै सम्पन्न १८औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको प्रतिनिधित्व गर्दै टोलीले मौलिक कला र संस्कृतिको उत्कृष्ट प्रस्तुति दिएको थियो ।

संस्थापक अध्यक्ष डा. आरसी कोइराला ‘रामचन्द्र’को नेतृत्व र निर्देशक शितल आचार्यको संयोजनमा गएको उक्त टोलीमा नेपालसहित सात देशका कलाकारहरूको सहभागिता रहेको थियो। मेलामा नेपाली कलाकारहरूले मारुनी, कौरा, कालभैरव, लाखे, मञ्जुश्री, धिमाल झ्याउरे र थाली नृत्यजस्ता आकर्षक प्रस्तुतिहरूमार्फत विदेशी दर्शकहरूको मन जितेका थिए।

परम्परागत पहिरन र मौलिक शैलीमार्फत नेपालको बहुसांस्कृतिक पहिचान झल्काइएको उक्त कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी, नृत्य निर्देशकहरू केशव कोइराला र सपना महर्जन सहभागी थिए। त्यसैगरी, कलाकार तथा नृत्य निर्देशक कृष्ण रसालको विशेष प्रस्तुति रहेको थियो भने राजु गिरी, भवानी कोइराला, गौरी ढकाल, पवित्र आचार्य, शान्ति कठायत, सुदन मान मुनिकार, आइकन कलाकार सिराज कोइराला र व्यवस्थापक राम श्रेष्ठ “मान बहादुर” को सक्रिय सहभागितामा कार्यक्रम सफल पारिएको थियो।


विदेशमा देशको नाम उचो बनाएर फर्किएको यो टोलीले नेपालको रसुवामा आएको बाढीपीडितहरूका लागि विशेष राहत समेत संकलन गरेको कलाकार तथा नृत्य निर्देशक कृष्ण रसालले जानकारी दिएका छन्।

