
ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग १४ बुँदे सहमति भएपछि घर फर्किएका छन्। सरकार र ऋणीहरूका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा सहमति जुटेपछि उनीहरूले लामो समयदेखि जारी राखेको धर्ना कार्यक्रम स्थगित गरेका हुन्।

सहमति कार्यान्वयनको प्रक्रियाअन्तर्गत सरकारले शनिबार बिहानदेखि उनीहरूलाई आ–आफ्नो गन्तव्यतर्फ पठाउने व्यवस्था गरेको थियो। बिहान ८ः५० बजेदेखि साझा यातायातका बस परिचालन गरी ऋणीहरूलाई सम्बन्धित जिल्लातर्फ पठाइएको हो।

विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई ८ वटा बसमार्फत बिदाइ गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरूलाई सहज रूपमा घर फर्काउन सरकारले यातायातको व्यवस्था गरेको जनाएको छ।


धर्नामा सहभागी ऋणीहरूलाई झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायतका जिल्लातर्फ पठाइएको हो।
सरकार र ऋणी पक्षबीच भएको १४ बुँदे सहमतिपछि आन्दोलनरत पक्षले धर्ना स्थगित गरेसँगै पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालयबाहिरको लामो समयदेखिको प्रदर्शन पनि अन्त्य भएको छ। सहमतिका बुँदाहरू कार्यान्वयनमा जाने अपेक्षासहित ऋणीहरू घर फर्किएका हुन्।

