रुवी भ्यालीको दुर्गम बस्तीमा स्वास्थ्यको उज्यालो डोङ्गदेन देवी माध्यमिक विद्यालयमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं – धादिङको विकट हिमाली क्षेत्र रुवी भ्याली गाउँपालिका–२ तिप्लिङस्थित Donggaden Devi Secondary School मा विद्यालयस्तरीय एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। २०८३ बैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन हुने शिविरअन्तर्गत विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायलाई विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको हो।
शिविरमा १२२ जना विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। दाँत उपचार, आँखा परीक्षण, नाक–कान–घाँटी जाँच, हेमोग्लोबिन परीक्षण, पोषण लेखाजोखा, भिडियो एक्स–रे तथा सामान्य स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइएको आयोजकले जनाएको छ। आवश्यक बिरामीलाई थप उपचारका लागि रिफर सेवा पनि प्रदान गरिएको थियो।
शिविरमा आँखा परीक्षण नेत्र सहायक मनोरथ खातीले, ईएनटी सेवा डा. सुदन अधिकारी र डा. सञ्जिता केसीले तथा दन्त सेवा Om Samaj Dental Hospital को टोलीले प्रदान गरेको थियो।
सामाजिक अभियन्ता तथा पत्रकार राजन थापाको नेतृत्वमा सञ्चालन भएको शिविरमा Sechen Karuna को सहकार्य रहेको थियो। दुर्गम क्षेत्रमा पुगेर सेवा दिन पाउनु ठूलो उपलब्धि भएको संस्थाका प्रोग्राम मेनेजर दीपेन्द्र पन्तले बताउनुभयो।
दुर्गम हिमाली क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन टोलीले कठिन पहाडी बाटो पार गर्दै जोखिमपूर्ण यात्रा गर्नुपरेको थियो। स्थानीयवासीले आफ्नै गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गरेका छन्। विद्यालय परिवारका अनुसार यस्ता शिविरले स्वास्थ्य सचेतना र सेवा पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

बिज्ञापन