
काभ्रेपलाञ्चोक जिल्लाको प्रतिष्ठित सहकारी संस्था बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूलाई थप प्रभावकारी र तीव्र रूपमा अघि बढाएको छ।

संस्थाले आफ्ना सेयर सदस्यहरूको सीप विकास तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले बनेपास्थित बीएमके ड्राइभिङ स्कुल सँग सहकार्य गर्दै सवारी चालक तालिम सञ्चालन गरेको हो। हाल उक्त तालिममा सहभागी दश जना प्रशिक्षणार्थीहरू धमाधम गाडी चलाउन सिकिरहेका छन्, जसले उनीहरूलाई भविष्यमा रोजगारी र आयआर्जनको नयाँ बाटो खोल्ने विश्वास गरिएको छ।

सहकारीको यस पहलले सदस्यहरूलाई व्यवहारिक सीप प्रदान गर्नुका साथै समुदायमै आधारित आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। नेपाल सरकारको मापदण्डअनुसार सञ्चालन हुँदै आएको बीएमके ड्राइभिङ स्कुल पछिल्लो समय गुणस्तरीय प्रशिक्षण, दक्ष प्रशिक्षक तथा उत्कृष्ट सेवाका कारण धेरैको रोजाइमा पर्न सफल हुँदै गएको छ।


यसै सन्दर्भमा सहकारीका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले भन्नुभयो, “हामीले सामाजिक उत्तरदायित्वका गतिविधिहरूलाई निरन्तर तीव्रता दिइरहेका छौँ। पछिल्लो समय सहकारी क्षेत्र केही चुनौतीपूर्ण अवस्थामा रहे पनि हामी समाजप्रति आफ्नो दायित्वबाट कहिल्यै पछि हट्दैनौँ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानेछौँ।”
यस कार्यक्रमले सहकारी र सीपमूलक संस्थाबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै समाजमै आधारित दिगो विकासको उदाहरण प्रस्तुत गरेको छ।



