

काठमाडौं, राजन थापा।
“मुख स्वास्थ्यको हेरचाह र नियन्त्रणले ९० प्रतिशत रोग लाग्नबाट जोगाउँछ” भन्ने मूल सन्देशसहित चन्द्रागिरी नगरपालिका–९ स्थित वडा स्वास्थ्यचौकीमा एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

त्यसैगरी, ॐ समाज डेन्टल अस्पताल र मेडिकेयर अस्पतालको प्राविधिक सहयोगमा चाहावेल चोकमा पनि समानान्तर रूपमा निःशुल्क दन्त तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। एकै दिन फरक–फरक स्थानमा दुई वटा शिविर सञ्चालन गर्दै ॐ समाज डेन्टल अस्पतालले स्वास्थ्य सेवा पहुँच विस्तारमा उदाहरणीय कार्य गरेको छ।


शिविरमा बृद्धबृद्धा, बालबालिका तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बिहानैदेखि सेवाग्राहीहरूको भीड देखिएको शिविरमा दन्त परीक्षण, दाँत सफा गर्ने, आवश्यक परे दाँत निकाल्ने, सामान्य उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो। साथै दन्त स्वास्थ्यसम्बन्धी जनचेतनामूलक जानकारी समेत दिइएको थियो।
लामो समयदेखि दाँत दुखाइ सहेर बसेका व्यक्तिहरू तथा आफ्ना सन्तानको स्वास्थ्यप्रति चिन्तित अभिभावकहरू आशा बोकेर सेवा लिन पुगेका थिए। चिकित्सकहरूको सेवाभाव र मुस्कानले उनीहरूको आशालाई विश्वासमा परिणत गरिरहेको देखिन्थ्यो। धेरै सेवाग्राहीहरूले पहिलोपटक यति व्यवस्थित निःशुल्क सेवा पाएको अनुभव सुनाउँदै आभार व्यक्त गरेका थिए।
शिविरमा २०० भन्दा बढी व्यक्तिले सेवा लिएको आयोजकले जनाएको छ। कार्यक्रमलाई सफल बनाउन लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण, तार्केश्वर क्लब ६० तथा समाजसेवी शर्मिला थापाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै शर्मिला थापाले दुर्गम क्षेत्रमा समेत यस्ता शिविर सञ्चालन हुँदा जनविश्वास बढ्दै गएको बताइन्। “जब बृद्धबृद्धाले ‘यो अस्पताल राम्रो छ’ भनेर खुशीसाथ भन्नुहुन्छ, त्यो नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो,” उनले भनिन्।
कार्यक्रमको एक भावनात्मक क्षणमा पत्रकार तथा समाजसेवी राजन थापाले एक ६८ वर्षीया आमाको सम्पूर्ण उपचार निःशुल्क गरिने घोषणा गरेका थिए, जसले उपस्थित धेरैको मन छोएको थियो।
ॐ समाज डेन्टल अस्पतालका वरिष्ठ सर्जन डा. सुवास घिमिरेले “रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु सबैभन्दा उत्तम उपाय हो” भन्दै यस अभियानको महत्व औंल्याए। उनले नयाँ वर्षको अवसर पारेर बनस्थली र चापागाउँ दोबाटोस्थित शाखाबाट सम्पूर्ण उपचार सेवामा २०% विशेष छुटको घोषणा समेत गरेका छन्।
मेडिकेयर अस्पतालका प्रशासन प्रमुख हरिभक्त सिग्देलको नेतृत्वमा अस्पतालले बिरामीमैत्री सेवा प्रवाह गर्दै आएको छ। “सेवा केवल कागजमा होइन, व्यवहारमा देखिनुपर्छ,” भन्ने उनको सोचले सेवा प्रणालीलाई प्रभावकारी बनाएको बताइएको छ।
चन्द्रागिरी–९ मा आयोजित शिविरको समन्वय नैकाप शाखा प्रमुख अन्जना खड्काले गरेकी थिइन् भने चाहावेल क्षेत्रको व्यवस्थापन सन्तोषी केसीले सम्हालेकी थिइन्।
आयोजकका अनुसार यस्ता निःशुल्क स्वास्थ्य शिविरहरूले सेवा पहुँचबाट टाढा रहेका नागरिकहरूलाई सहज, गुणस्तरीय उपचार उपलब्ध गराउँदै समाजमा आशा र विश्वास जगाइरहेका छन्।
स्वास्थ्य सेवा जब सेवाभावसँग जोडिन्छ, तब त्यसले केवल रोग होइन, मन पनि निको पार्छ।


