
३५ वर्षअघि अफ्रिकी राष्ट्र नामिबियाको राजधानी विन्डहक सहरमा आयोजित सम्मेलनमा संयुक्त राष्ट्रसङ्घद्वारा मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने निर्णय गरिएको थियो। त्यसैअनुसार मे ३ अर्थात् वैशाख २० गतेलाई विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ ।

दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घले काठमाडौंमा ऐक्यबद्धता र्यालीको आयोजना गरेको थियो । ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवद्र्धन’ को नारासहित आयोजित र्याली माइतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा महासङ्घका अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संवैधानिक हक भएकाले कुण्ठित नहुने धारणा राखिन् ।


नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अवरोध भए कानुनी उपचारका साथै स्वतन्त्रताका पक्षमा नैतिक समर्थन जनाउने बताए ।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मानव अधिकारकै अङ्ग भएकाले त्यसको हनन् भएमा आयोग रक्षार्थ उभिने प्रतिवद्धता जनाए ।
प्रेसको भूमिका सङ्कुचित हुने अवस्था आउन नदिन विश्वव्यापी रूपमा यो दिवस मनाउने गरिन्छ ।



