लक्ष्मी महिला बचत तथा ऋण सहकारीको २८औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

 

बनेपा- लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि., पनौती–५ चौकोटमा रहेको सहकारीले आज २०८२ साल चैत १३ गते आफ्नो २८औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ।संस्थाको प्राङ्गणमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष हिमाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

बिज्ञापन

कार्यक्रममा संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, संस्थापनाकालका सदस्यहरू, हालका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, कर्मचारी र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले गर्नुभएको थियो।

औपचारिक कार्यक्रम राष्ट्रिय गानबाट सुरु भई अध्यक्ष, संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्षको हातबाट दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो। त्यसपछि २८औँ वार्षिकोत्सवको प्रतीकस्वरूप २८ वटा दीपमा पदाधिकारी, शेयर सदस्य तथा कर्मचारीहरूले पालैपालो दीप प्रज्वलन गरेका थिए।

संस्थाकी उपाध्यक्ष कविता कार्कीले स्वागत मन्तव्य राख्दै संस्थाको वित्तीय अवस्थाबारे जानकारी दिनुभयो। उहाँका अनुसार संस्थामा हाल ३६०० शेयर सदस्य आबद्ध रहेका छन् भने करिब ३ करोड २० लाख रुपैयाँ शेयर पूँजी संकलन भएको छ। त्यसैगरी बचत रकम करिब ३० करोड रुपैयाँ पुगेको छ भने ऋण लगानी २३ करोड ७५ लाख रुपैयाँ रहेको छ।

यसरी संस्थाले कुल करिब ३६ करोड ७५ लाख रुपैयाँ बराबरको सम्पत्ति निर्माण गर्न सफल भएको जानकारी दिइयो। साथै, संस्थाले सुशासन, नियमपालना र कर्जा जोखिम कोष व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सदस्यमैत्री सरल ब्याजदरमा ऋण सेवा प्रदान गर्दै आएको उल्लेख गरियो।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष मैया महतले संस्थाको प्रगति र उपलब्धिप्रति गौरव व्यक्त गर्दै सञ्चालक समिति मर्यादित, कर्मचारी अनुशासित र सेवा सदस्य केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो। महिलाहरूका लागि आर्थिक पहुँच सीमित रहेको समयमा संस्थाले खेलेको भूमिका स्मरण गर्दै आगामी पुस्तासम्म यसलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

संस्थापक अध्यक्ष तिर्थमाया प्रधानले २८ वर्षअघि महिलाहरूको सक्रियतामा स्थापना गरिएको संस्था आज जिल्ला तथा प्रदेशस्तरमै परिचित बन्न सफल भएको बताउनुभयो। प्रारम्भिक चरणका चुनौतीहरू सम्झिँदै उहाँले पछिल्लो समय केही सहकारीमा देखिएका नकारात्मक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै संस्थाले सुशासन र सुरक्षामा अझ सजग रहनुपर्ने सुझाव दिनुभयो।

समापन मन्तव्यमा अध्यक्ष हिमाली श्रेष्ठले अग्रजहरूको सुझावलाई आत्मसात गर्दै संस्थालाई अनुशासित, सन्तुलित र दिगो रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सदस्यहरूको विश्वास कायम राख्दै संस्थाको स्थायित्व र विकासमा केन्द्रित रहने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न गरिएको थियो।