गायक सन्तोष खत्रीको नयाँ कदम, विनोद रसाइलीसँग पप संगीत यात्रा सुरु

 

काठमाडौं । नेपाली संगीत क्षेत्रमा सक्रिय गायक तथा सिर्जनाकार सन्तोष खत्रीले आफ्नो सांगीतिक यात्रालाई नयाँ दिशातर्फ अघि बढाउने घोषणा गरेका छन् । लोक दोहोरी गीतमार्फत आफ्नो पहिचान बनाएका खत्री अब आधुनिक पप तथा ब्यान्ड शैलीका गीतहरूमा केन्द्रित भएर काम गर्ने तयारीमा छन् । खत्रीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा समयअनुसार संगीतमा नयाँ प्रयोग आवश्यक रहेको उल्लेख गर्दै आफूले नयाँ साउण्ड र फरक शैलीका गीतहरू प्रस्तुत गर्ने बताएका छन् ।

बिज्ञापन

खत्रीका अनुसार आगामी दिनहरूमा दर्शक तथा श्रोताहरूले आधुनिक संगीतको स्वादसहित मौलिक भावना झल्किने पप तथा ब्यान्डमा आधारित प्रोजेक्ट सुन्न पाउने छन् । यस नयाँ यात्रामा चर्चित एरेन्जर विनोद रसाइलीले पनि पूर्ण साथ दिने जानकारी प्राप्त भएको छ । खत्री र रसाइलीबीचको सहकार्यले आगामी प्रोजेक्टहरूलाई थप मजबुत र प्रभावशाली बनाउने अपेक्षा गरिएको छ ।

‘लोक दोहोरीले मलाई चिनायो र माया दियो । अब म नयाँ दिशामा अघि बढ्दै, फरक अनुभव दिने प्रयासमा छु’, खत्रीले बताए । खत्रीले यस नयाँ यात्रामा आफ्ना दर्शक तथा श्रोताहरूको साथ, माया र समर्थनको अपेक्षा पनि व्यक्त गरेका छन् । सन्तोष खत्री नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय कलाकारका रूपमा परिचित छन् र खत्रीका विभिन्न गीतहरू डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक भइसकेका छन् ।