आर्शुको चौथो स्मृतिमा मानव सेवा आश्रम पनौतीका बालबालिकालाई भोजन तथा सहयोग

काभ्रे । स्वर्गीय आर्शुको चौथो स्मृति दिवसमा आर्शु स्मृति प्रतिष्ठान नेपालले मानव सेवा आश्रम पनौतीमा आश्रित बालबालिकाहरूलाई भोजन खुवाउने तथा विभिन्न सामग्री सहयोग गर्ने कार्यक्रम आयोजना गरेको छ।

स्मृतिका भावनात्मक क्षणहरूबीच सम्पन्न उक्त कार्यक्रमले मानव सेवा र सहानुभूतिको सन्देश फैलाएको छ। कार्यक्रमका क्रममा आश्रममा रहेका बालबालिकाहरूलाई प्रेम र आत्मीयतासहित भोजन खुवाइएको थियो। साथै बालबालिकाहरूका लागि फलफूल, बिस्कुट, चाउचाउ, भुजिया तथा साबुनलगायत आवश्यक सामग्री पनि वितरण गरिएको थियो।

बिज्ञापन

बालबालिकासँग केही समय बिताउँदै उनीहरूको मुस्कान र खुसीमा सहभागी हुन पाउँदा कार्यक्रम झनै भावनात्मक र अर्थपूर्ण बनेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा आर्शु स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष हरेराम काफ्ले (रुपेश) सहित समाजसेवी राजन अधिकारी, बेलि माया लामा, पत्रकार नवराज बजगाई, पत्रकार लक्ष्मण तिमल्सिना तथा रामु सुधन केसीको सहभागिता रहेको थियो।

सहभागीहरूले बालबालिकालाई माया, साथ र सहयोग प्रदान गर्दै स्मृति दिवसलाई सेवा र सद्भावको रूपमा मनाएका थिए।
आर्शु स्मृति प्रतिष्ठान नेपालले विगतदेखि नै विभिन्न समयमा दिनदुखी, असहाय तथा विपन्न समुदायका व्यक्तिहरूलाई सहयोग गर्दै सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। प्रतिष्ठानले स्मृति दिवसलाई केवल सम्झनाको दिन मात्र नभई समाजप्रति उत्तरदायित्व र सेवा भाव प्रकट गर्ने अवसरको रूपमा लिँदै आएको बताइएको छ।

कार्यक्रममा सहभागीहरूले स्वर्गीय आर्शुको स्मृतिमा गरिने यस्ता मानवीय सेवामूलक कार्यले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन्। बालबालिकासँगको आत्मीय भेटघाट, भोजन तथा सहयोग वितरणले कार्यक्रमलाई भावनात्मक, प्रेरणादायी र स्मरणीय बनाएको छ।