

बनेपा नगरपालिका–८ स्थित ज्योति एकेडेमी स्कुलले एसईई २०८१ उत्तीर्ण २७ जना विद्यार्थीहरूलाई सम्मान तथा विदाइ सम्पन्न गरेको छ।

विद्यालयले आफ्ना सफल विद्यार्थीहरूको उपलब्धिको कदर गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको थियो।


कार्यक्रमका प्रमुख अतिथि श्यामबहादुर भुजेलले विद्यार्थीहरूलाई बधाई दिँदै अनुशासन, मेहनत र सकारात्मक सोचले जीवनमा उच्च सफलता हासिल गर्न सकिने उल्लेख गरे। उनले विद्यालयले शैक्षिक गुणस्तर र संस्कारयुक्त शिक्षामा दिएको योगदान प्रशंसनीय रहेको बताए।
कार्यक्रममा काभ्रे प्याब्सनका सल्लाहकार छवि रमण पराजुली, अतिथि सुविन मानन्धर र रामसुन्दर भट्टराईको विशेष उपस्थिति रहेको थियो। उनीहरूले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा निरन्तर प्रगति गर्न प्रेरणा दिँदै आत्मविश्वासका साथ अघि बढ्न सुझाव दिएका थिए।
कार्यक्रमको सभापतित्व विद्यालयका सञ्चालक अध्यक्ष त्रिरत्न मानन्धरले गरेका थिए। उनले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै नैतिक मूल्य र व्यवहारिक शिक्षामा जोड दिँदै आएको उल्लेख गर्दै उत्तीर्ण सबै विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना व्यक्त गरे।
सम्मानित २७ जना विद्यार्थीलाई प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। समारोहले विद्यार्थीहरूको मेहनत, लगनशीलता र विद्यालयप्रतिको समर्पणलाई सम्मानित गर्दै भावुक वातावरणमा विदाइ गरिएको थियो।


