

तेमाल–आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार अन्र्तगत नेकपा एमाले काभ्रेपलाञ्चोक क्षेत्र नं. १ को प्रत्यक्ष उम्मेदवार अमित लामा र समानुपातिक उम्मेदवार इन्द्र बहादुर तामाङको टोलीले तेमालमा घरदैलो अभियान सम्पन्न गरेको छ ।

बिहीबार तेमाल गाउँपालिका वडा नं. ४ बोल्देफेदिचेबाट सुरु भएको घरदैलो अभियान अन्र्तगत सोही दिन वडा नं. ६ ठूलोपर्सेल, शुक्रबार वडा नं. ५ पोखरी नारायणस्थान तथा रोसाइबा, वडा नं. ७ कुरुवास तथा चापाखोरी, वडा नं. ८ भोर्ज्याङ तथा योगर, वडा नं. ९ मेच्छे पौवा तथा खत्रीगाउँ, शनिबार वडा नं. ३ सरमथली, वडा नं. २ चुखा तथा लामागाउँ र वडा नं. १ सस्र्यूंखर्क वेशी तथा आधाबाटमा भेला समेत आयोजना गरिएको थियो ।


अभियान अवधिमा जनतासँग प्रत्यक्ष भेटघाट देखि भेला तथा सभाको आयोजना गरी मतदाता शिक्षा प्रदानदेखि स्थानीय आवश्यकता, समस्याको पहिचान, एमालेको आगामी नीति, योजना तथा कार्यक्रम सार्वजनिक गर्नुका साथै आफ्ना प्रतिवद्धता व्यक्त गरिएको छ ।
घरदैलो अभियानमा पुगेका एमाले उम्मेदवार टोलीलाई तेमालबासीले खुलेर आफ्नो समस्या बताउनुका साथै एमालेले हिजो गरेको कामको सकारात्मक समिक्षा र आगामी अभिभारा पूरा गर्ने विश्वास व्यक्त गरेका छन् । यहाँका स्थानीयले तेमालको भौतिक पूर्वाधारको विकासदेखि सामाजिक, आर्थिक विकासका सवालमा समस्या व्यक्त गर्दै यो निर्वाचानमा एमालेले जितेमा समस्या समाधान हुने भरोसा व्यक्त गरेका हुन् ।
‘बाटो अझै कच्ची छ बर्खामा गाडी चल्ने भर छैन, पानीको सुविस्ता छैन, हाम्रा सन्तती रोजगार, शिक्षाका लागि शहर झर्नुपरेको छ, छोराछोरीहरु विदेशिनु परेको छ ।’, तेमाल ७ चापाखोरीमा भेटिएका एक बृद्धा महिलाले दुखेसो पोख्दै भन्नुभयो, ‘यो जीवनमा भोट त उहिलेदेखि नै दिदै आएका छौं जित्नेले कुरा मात्रै गरे, अब यो ठाउँमा एमालेले जितोस् भन्ने चाहना छ ।’
अभियानकै क्रममा एमालेको नीति, विचार, योजनाप्रति विश्वास गर्दै नेपाली कम्युनिष्ट पार्टी तथा एकिकृत समाजवादी, नेपाली काँग्रेसका केहि नेता कार्यकर्ता एमाले प्रवेश गरे । नेपाली कम्युनिष्ट पार्टी अघि एकिकृत समाजवादी पार्टी जिल्ला सदस्य इन्द्रजित लामा, तेमाल वडा नं. ४ बोल्देका वडा कमिटि अध्यक्ष धन बहादुर लामा एमाले फर्कनुभएको हो भने वडा नं. १ का हजार सिं तामाङ , कुलमान तामाङ लगायत पनि एमालेमा आवद्ध हुनुभएको छ ।
वडा वडा बस्ती बस्तीमा भेटिएका तेमाले जनतामा एमाले जितोस् भन्ने यस खालको चाहना, आशा र विश्वास पाएका एमालेबाट प्रत्यक्ष तर्फका उम्मेद्वार अमित लामाले जनताको मत कत्ति पनि खेर जान नदिने बताउनुभयो ।
‘प्राकृतिक, सांस्कृतिक, धार्मिक स्थल, पर्यटन र उत्पादनका हिसावले तेमाल सम्भावना नै सम्भावना भएको ठाउँ हो भन्ने मैले बुझेको छु । शहरबाट ५० किलोमिटर पनि टाढा नरहेको यो ठाउँको विकास पूर्वाधारको अवस्था धेरै चिन्ताजनक रहेको पाएँ ।’, लामाले भन्नुभयो, ‘लामो समयदेखि अरु पार्टीले जितेर जनप्रतिनिधि सांसदहरु खाली नरहेको तेमालको विकास यो भन्दा धेरै माथि उठ्नुपर्ने थियो अब चिन्ता गर्नु पर्दैन हामी तपाईंहरुको साथमा छौं ।’
उहाँले तेमालको सडक पिच गर्ने, खानेपानी घरघरमा पुर्याउने, गुणस्तरीय शिक्षा र स्वास्थ सेवा, खेलकुद विकास, महिला तथा युवा सशक्तिकरण र रोजगारी सिर्जना, जेष्ठ नागरिकको सम्मान, उन्नत प्रविधि विउविजन मलखाद एवं सिञ्जाईंको व्यवस्था गरी व्यवसायिक कृषिको विकास, बुद्धचित्त मालाको ब्राण्डिङ, तेमाल बहुसांस्कृतिक संग्रहालय निर्माण, तोङसोमकुँडाक, ६ घ्याङ, नारायणस्थान लगायतका धार्मिक सांस्कृतिक सम्पदाहरुको प्रवद्र्धन जस्ता धार्मिक तथा सांस्कृतिक पर्यटन विकास सम्मका योजनाहरु अघि सार्दै त्यसलाई पूरा गर्ने संकल्प गर्नुभयो ।
‘इन्द्र बहादुर तामाङ तेमाल १ मा जन्मेका, मेरो पूर्खा पनि तेमालकै हो, यो हिसावले पनि यो क्षेत्रसँगको नछुटिने साइनो छ । यहाँको भावना बुझेको छु, हामी सबै मिलेर तेमाल बनाउन जुट्न आग्रह गर्न चाहन्छु ।’–उहाँले भन्नुभयो ।
सांस्कृतिक, धार्मिक, ऐतिहासीक रुपमा संसारले चिनेको तेमालको इतिहासको उत्खनन्, संरक्षण र प्रवद्र्धन कार्य पनि आफ्नो प्राथमिकतामा उत्तिकै पर्ने उहाँले स्पष्ट पार्नुभयो ।
यो फागुन २१ गतेको निर्वाचनबाट यो क्षेत्रमा एमालेले जितेमा तेमालको आवाज सदन र सरकारसमक्ष स्थापित गरी यहाँको जनजीविकामा आमुल परिवर्तन ल्याउने उल्लेख गर्दै लामाले यसका ढुक्क हुन आग्रह गर्नुभयो ।
एमाले केन्द्रिय सदस्य समेत रहेका युवा नेता लामाले आफूहरु भाषणभन्दा काममा विश्वास गर्ने भएकोले युवा भावना समेत राम्रोसँग बुझ्ने युवालाई उम्मेदवार बनाएर जनताको सेवाका लागि पार्टीले पठाएको बताउनुभयो । सुशाषन, सामाजिक न्याय, विकासमार्फत सुखी तेमाले जनता र समद्ध तेमालका लागि आफूहरु प्रतिवद्ध भएर लाग्ने उहाँको भनाई छ ।
गत २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा समेत तेमाल गाउँपालिका अध्यक्षका प्रत्यासी उम्मेदवार रहेका, यो पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक उम्मेदवार इन्द्र बहादुर तामाङले एमालेले त्यहि बेला अघि सारेको विकासका योजना, नीति, कार्यक्रम अलपत्र परेको भन्दै त्यसको कार्यन्वयन अव संसदमा पुगेर गर्ने र त्यसका लागि सूर्य चिन्हमा मतदान गर्न सबैमा अनुरोध गर्नुभयो ।
‘गत स्थानीय तहको निर्वाचनमा यहाँहरुको माया पाएँ, अलि पर्याप्त भएन थोरै मतले पराजित भएँ, यो पटक यहाँहरु सबैले अमुल्य मत दिनुभएर युवा उम्मेदवार अमित र मलाई जिताउनुभयो भने त्यो वचन पूरा गर्नेछौं ।’, उहाँले भन्नुभयो, ‘बारम्बार अरुले जिते, डाडुपनिउँ उनिहरुकै हातमा पर्यो, हामीलाई काम लागेन अब यहाँको विकासका लागि नीति, योजना र बजेट बनाउने त्यो ठाउँमा हामीलाई पुर्याउन साथ दिनुहोस्, म तेमालको छोरो जन्मदिने आमा झैं प्यारो यो मातृभुमिको समृद्धिमा हामी सँगै हातेमालो गरौं ।’


