नव क्षितिजको रजत वर्ष समापन, सहयोगीलाई सम्मान

 

बनेपा- असल शासनका लागि ग्रामिण पत्रकारिताको नारासहित मोफसलको पत्रकारितामा स्थापित नव क्षितिज साप्ताहिक रजत वर्ष पुरा गरी २६ औ बर्ष प्रवेश गरेको छ । सो अवसरमा पत्रिकाले सोमबार एक भव्य कार्यक्रम आयोजना गरी रजत वर्ष समापन गरेको हो ।

बिज्ञापन

बिभिन्न विधामा स्थापित व्यक्तित्व र पत्रिकालाई विविधरुपले सहयोग गर्नेहरुलाई सम्मान गरि मनाईएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यले छापा पत्रकारिता मुलधारको पत्रकारिता भएपनि पछिल्लो समय संकटबाटै गुज्रिरहेकोमा सरकारी बिज्ञापनको असहजताले झनै समस्यामा परेको बताउनु भयो ।

समस्यामा बिच पनि प्रेस काउन्सिल नेपाल नियामक निकाय भएकाले आचारसंहितालगायत अनुगमनका कार्यमा प्रेस काउन्सिल नेपाल कठोर बन्नु परेको उहाँको भनाई थियोे । प्रेस काउन्सिलको सचेतनाले मिडियालाई नै असहजताबाट रोक्न मद्धत पुग्ने भन्दै सामाजिक सञ्जाल नियमन नहुदा मिडियालाई समेत समस्या परेपनि भरपर्दाे माध्यमका रुपमा भने मिडिया नै रहेको अध्यक्ष आचार्यले बताउनु भयो ।

पत्रिका सञ्चालक संस्थाका अध्यक्ष एवं प्रधानसम्पादक नवराज बजगाईले कार्यक्रमको अध्यक्षता गर्दै बिधिन्न समस्याका बिच पत्रिकाले २६ वर्ष प्रवेश गरेकोमा सहयोगी सबैलाई धन्यवाद दिनुभयो । गत वर्ष २०८२ बैशाख ८ गते सोमबार २५औं वर्षमा प्रवेश गरेको अवसरमा धुलिखेलको फूलबारी स्थित दुसित थानी रिसोर्टमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले डिजिटल ब्यानरको रिमोटद्धारा उद्घाटन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । सो पछि वर्षभर बिविध कार्यक्रम गरी रजत वर्ष मनाईएको अध्यक्ष एवं प्रधानसम्पादक बजगाईले बताउनु भयो ।

कार्यक्रममा नव क्षितिज साप्ताहिकको रजत लोगोको कोट पिन सार्वजनिक गरिनुका साथै रजत स्मारिका विमोचन र रजत गीतको भिडियो समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा पत्रिकाका स्तम्भकार प्रल्हाद दाहालको कृति ‘अनुभूतिको संगालो’ र दिपा गुरुङ ‘समभाव’ को कथा संग्रह ‘कथा काठमाडौँको समेत विमोचन गरिएको थियो । यो पटक भने केहि रजत सम्मान बितरण लगायतका कार्यक्रम भएका थिए ।

रजत सम्मानमा संस्थागत तर्फ मानव कल्याण समाज काभ्रेपलाञ्चोक शाखा, शब्दयात्रा प्रकाशन बनेपा–६, काभ्रेपलाञ्चोक, आर्सु स्मृती प्रतिष्ठान बनेपा काभ्रेपलाञ्चोकलगायत १३ संस्था र बिशिष्ट व्यक्तित्वहरु र केहि सहयोगी संस्था र व्यक्तित्वहरुलाई रजत सम्मान प्रदान गरिएको थियो ।

सम्मानितहरुलाई अध्यक्ष एवं प्रधानसम्पादक नवराज बजगाई, प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्य, भुमि समस्या समाधान आयोगका अध्यक्ष विदुर हुमागाई, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाललगायतले सम्मान प्रदान गरेका थिए । आयोजकको तर्फबाट स्वागत मन्तव्य रविन्द्रनाथ सिग्देलले, सञ्चालन रचना गौतमले र धन्यवाद ज्ञापन अरबिन्द्र गौतमले गरेको कार्यक्रममा नव क्षितिज रजत गीतका गायक रामहरी न्यौपाने र सरु गौतमले सांगितिक प्रस्तुती राखेका थिए।