

काठमाडौं, राजन थापा — Southwestern State College (SWSC) ले आयोजना गरेको १४औँ Southwestern Science Exhibition & Career in Management–2026 दुई दिनसम्म बसुन्धरा स्थित कलेज परिसरमा सम्पन्न भएको छ। प्रदर्शनी तथा करियर एक्स्पोको उद्घाटन टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी ले गर्नुभएको थियो।

विज्ञान, प्रविधि, नवप्रवर्तन तथा व्यवस्थापन शिक्षा एकै थलोमा प्रस्तुत गरिएको यस एक्स्पोले विद्यार्थीहरूको सिर्जनशीलता उजागर गर्ने, अनुसन्धान प्रवर्द्धन गर्ने र करियर निर्माणमा मार्गदर्शन दिने महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको आयोजकहरूले जानकारी दिएका छन्। यसले विद्यालय तथा कलेज तहका विद्यार्थीलाई आफ्ना सीप, ज्ञान र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ।


उद्घाटन समारोहमा नगर प्रमुख प्रकाश अधिकारी ले साउथवेस्टर्न कलेजले विद्यार्थीहरूको शैक्षिक र व्यावसायिक दक्षता विकासमा निरन्तर योगदान पुर्याउँदै आएको भन्दै प्रशंसा गर्नुभयो। उहाँले कलेजले गुणस्तरीय जनशक्ति उत्पादन र समावेशी शिक्षामा गरेको लगानीलाई उच्च मूल्याङ्कन गर्दै यस्ता शैक्षिक गतिविधिमा नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “शिक्षामा गरिएको लगानी समाजको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधार हो,” उहाँले भन्नुभयो।
कार्यक्रममा प्याब्सन काठमाडौंका केन्द्रीय अध्यक्ष गोपाल आचार्य ले गुणस्तरीय शिक्षा, नवप्रवर्तन र सिर्जनशीलता विकासका लागि साउथवेस्टर्न कलेजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँका अनुसार यस्ता प्रदर्शनीहरूले विद्यार्थीको प्रतिभा उजागर गर्ने, सिर्जनशीलता विकास गर्ने र उज्ज्वल भविष्य निर्माणमा प्रेरणा दिने छन्। “पाठ्यक्रमसँगै व्यवहारिक ज्ञान, सीप र करियर मार्गदर्शन प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रम आवश्यक छन्,” उहाँले थप्नुभयो।
कलेजका प्रिन्सिपल डा. राजेन्द्र केसी ले आधुनिक शिक्षामा पुस्तकमा सीमित ज्ञान मात्र पर्याप्त नभई विद्यार्थीलाई प्रयोग, अनुसन्धान र समस्या समाधानमा केन्द्रित गराउनुपर्ने औँल्याउनुभयो। उहाँले भन्नुभयो, “प्रदर्शनी तथा एक्स्पो व्यवहारिक सिकाइका लागि प्रभावकारी माध्यम हुन् र नवप्रवर्तन तथा स्वतन्त्र सोच विकासमा महत्वपूर्ण भूमिका खेल्छन्।”
कलेजका उप–प्रधानाध्यापक हरि सिंह केसी अनुसार एक्स्पो बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म सञ्चालन भएको थियो। काठमाडौंका ७५ भन्दा बढी विद्यालय सहभागी भएका थिए। सहभागी विद्यार्थी तथा शिक्षकहरूले कलेजको अत्याधुनिक Science Lab अवलोकन गर्दा “विदेश पुगेजस्तो अनुभव” भएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रमको संचालन SWSC का कम्पनी सेक्रेटरी श्री राजेन्द्र लामिछानेले गर्नु भएको थियो, जसले कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न महत्वपूर्ण भूमिका निभाउनुभएको थियो।
एक्स्पोमा ६० भन्दा बढी विद्यालय तथा कलेजका स्टल राखिएका थिए। विज्ञान, व्यवस्थापन, प्रविधि, नवप्रवर्तन र अनुसन्धानसम्बन्धी परियोजनाहरू प्रदर्शन गरिएका थिए। यसपटक इन्ट्रा कलेज, इन्टर कलेज र इन्टर स्कूल विज्ञान प्रदर्शनी गरी तीन तहमा प्रतिस्पर्धात्मक कार्यक्रमहरू सञ्चालन भएका थिए। युवा वैज्ञानिकद्वारा नवप्रवर्तन र आविष्कार प्रदर्शन र व्यवस्थापकीय प्रोजेक्ट प्रस्तुतिहरू पनि राखिएका थिए।
कार्यक्रममा Maze Solving Robot Competition र Solar Observation जस्ता प्रविधिमैत्री गतिविधिहरू सञ्चालन भएका थिए। आयोजकका अनुसार यस्ता गतिविधिले विद्यार्थीहरूमा विज्ञान र प्रविधि प्रति रुचि बढाउने र प्रयोगात्मक सिकाइलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।
एक्स्पोमा सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य सेवा सञ्चालन भएको थियो। ग्रीनसिटी अस्पताल संगको सहकार्यमा स्वास्थ्य शिविर, कीर्तिपुर आँखा अस्पताल द्वारा आँखा परीक्षण, ओम समाज डेन्टल अस्पताल संग दाँत परीक्षण र उपचार सेवा उपलब्ध गराइएको थियो। साथै, हेड्स नेपाल र नेपाल रेडक्रस सोसाइटी को सहकार्यमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो। स्वास्थ्य शिविरको व्यवस्थापन सामाजिक अभियन्ता तथा पत्रकार राजन थापा ले गर्नु भएको थियो।
उक्त कार्यक्रमको अवसरमा साउथवेस्टर्न स्टेट कलेज र ओम समाज डेन्टल अस्पतालबीच दीर्घकालीन सहकार्यका लागि MOU मा हस्ताक्षर गरिएको थियो। कलेजका तर्फबाट डा. राजेन्द्र केसी, हरि सिंह केसी र सरिता शाक्य प्रधान, अस्पतालको तर्फबाट संचालक समिति सदस्य, अभियानता राजन थापा र बन्सथली शाखा प्रमुख सबिना पपन गुरुङ ले हस्ताक्षर गर्नुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै SWSC की अन्तर्राष्ट्रिय समन्वयकर्ता तथा १४औँ प्रदर्शनीकी संयोजक सरिता शाक्य प्रधान ले एक्स्पोले विद्यार्थीलाई सिक्ने, प्रतिभा प्रदर्शन गर्ने र प्रतिस्पर्धी बन्ने अवसर प्रदान गरेको बताउनुभयो। उहाँले आधुनिक प्रविधिसँग अनुकूलन गर्दै नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो।
कार्यक्रममा सहभागी र दर्शकका लागि ननस्टप सांगीतिक कार्यक्रम र अवलोकनकर्तामार्फत भोटिङ सिस्टम समेत राखिएको थियो। अन्त्यमा सहभागीहरूलाई पुरस्कार, प्रमाणपत्र र मायाको चिनो वितरण गरिएको थियो।
SWSC को १४औँ विज्ञान प्रदर्शनी तथा करियर एक्स्पोले विद्यार्थीहरूलाई सिर्जनशीलता, व्यवहारिक ज्ञान र अनुसन्धानमा सक्रिय हुन प्रेरित गरेको, साथै सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत स्वास्थ्य सेवासम्म उपलब्ध गराएको उल्लेखनीय पहलका रूपमा विश्लेषकहरूले मूल्याङ्कन गरेका छन्।


