गरिबीको दिगो समाधानतर्फ धुलिखेल नगरपालिकाको पहल, वडा नं. ४ मा आयआर्जन अभिमुखीकरण कार्यक्रम

धुलिखेल – धुलिखेल नगरपालिका काभ्रेपलाञ्चोकको आयोजनामा गरिबीको रेखामुनी रहेका समुदायको सामाजिक–आर्थिक उत्थानलाई लक्ष्य गरी आयआर्जनसम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम धुलिखेल नगरपालिका वडा नं. ४ को वडा अध्यक्ष उत्तम प्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा स्वरोजगार, सीप विकास, रोजगारीका अवसर र आयआर्जनका सम्भावनाबारे सहभागीहरूलाई जानकारी गराइएको थियो।

बिज्ञापन

वडा अध्यक्ष उत्तम प्रसाद तिमल्सिनाले भन्नुभयो,
“गरिबी न्यूनीकरण राहतले मात्र सम्भव हुँदैन, दिगो समाधानका लागि सीप, ज्ञान र अवसरको पहुँच अनिवार्य छ।

आयआर्जनसम्बन्धी यस्ता अभिमुखीकरण कार्यक्रमले समुदायलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्छन्।”

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा स्थानीयले
“स्थानीयस्तरमै उपलब्ध स्रोत र सीपलाई आयआर्जनसँग जोड्न सके गरिबीको रेखामुनी रहेका परिवारको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउन सकिने” धारणा व्यक्त गरेका थिए।

अभिमुखीकरण कार्यक्रममा वडाका जनप्रतिनिधिहरू,इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरका निर्देश कामदेव शाह ठकुरी, स्थानीय अगुवाहरू तथा गरिबीको रेखामुनी रहेका समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

नगरपालिका र वडा कार्यालयले आगामी दिनमा पनि लक्षित समुदायको जीवनस्तर सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।