बुडोल सामुदायिक साकोसको २७औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

बनेपा । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेडको २७औँ वार्षिकोत्सव समारोह विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष कैलाश के.सी. ले गर्नुभएको थियो।

समारोहका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका पूर्व अध्यक्ष केशब प्रसाद बडाल रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष उदय राम कायस्थ, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोद कुमार न्यौपाने तथा कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेका अध्यक्ष गोपाल प्रसाद दाहाल सहभागी रहनुभएको थियो ।

बिज्ञापन

वार्षिकोत्सवको अवसरमा संस्थाले वर्षको उत्कृष्ट सदस्य २०८२ सम्मान प्रदान गरेको छ । उत्कृष्ट बचतकर्तातर्फ इन्दिरा पराजुली र गोवर्धन थापा, उत्कृष्ट ऋण कारोबारतर्फ सुनिता पाण्डे र विश्वनाथ मानन्धर, तथा उत्कृष्ट बालबचतकर्तातर्फ रिभा उपाध्याय र युवेश थापा सम्मानित हुनुभएको छ ।

त्यसैगरी नियमित रक्तदाता सम्मानतर्फ दिपक सुवाल लाई सम्मान प्रदान गरिएको थियो । बुसा शैक्षिक सम्मान अन्तर्गत स्नातकोत्तर तहका ९ जना, स्नातक तहका ७ जना र दश जोड दुई तहका ५३ जना गरी कुल ६९ जना विद्यार्थीहरू सम्मानित भएका छन् । तहगत उत्कृष्टतर्फ स्नातकोत्तरमा दिनेश भुर्तेल, स्नातकमा सुमिना अवा र दश जोड दुईमा कृशला लुइटेल उत्कृष्ट घोषित भई नगद रु. ५,००० सहित बुसा सर्वोत्कृष्ट शैक्षिक सम्मान प्राप्त गर्नुभएको छ ।

दीर्घ सेवा पदक तथा सम्मानतर्फ २० वर्ष सेवा अवधि पूरा गर्नुभएकी कार्यकारी अधिकृत रञ्जना सुवाल सम्मानित हुनुभयो । त्यस्तै १० वर्ष सेवा अवधि पूरा गर्ने कर्मचारीहरू—बरिष्ठ अधिकृत उमेश आचार्य, बरिष्ठ सहायक कविता श्रेष्ठ, सहायक श्रीकृष्ण श्रेष्ठ, कनिष्ठ सहायक सुशिला मानन्धर, मेसेन्जर मुकुन्द पराजुली र सुरक्षा सहयोगी नवराज भुजेल लाई दशक सेवा पदक तथा सम्मान प्रदान गरिएको थियो ।

वर्षको उत्कृष्ट कर्मचारी २०८२ सम्मान सदस्य सहजकर्ता दिवाकर सुवेदी ले प्राप्त गर्नुभयो । सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै कान्छीमाया फाउण्डेशन तथा कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पतालमार्फत सेवा गर्दै आउनुभएका डा. दिलबहादुर तामाङ लाई विशिष्ट सदस्य सम्मान प्रदान गरिएको छ ।
संस्थाले विशेष क्षमता (अपाङ्गता) भएका सदस्यहरूप्रति सहानुभूति र सहयोगको भावना व्यक्त गर्दै, अपाङ्गता परिचयपत्र प्राप्त गरेका २८ जना सदस्यहरूको घरमै पुगेर भेटघाट तथा सहयोग उपलब्ध गराउने घोषणा समेत गरेको छ ।

कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथिहरू, दश जोड दुईतर्फ उत्कृष्ट भई सम्मान प्राप्त गर्ने कृशला लुइटेल र वर्षको उत्कृष्ट सदस्य सम्मान प्राप्त गर्ने गोवर्धन थापा ले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका उपाध्यक्ष प्रकाश भुर्तेल ले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको सञ्चालन कार्यकारी अधिकृत रञ्जना सुवाल ले गर्नुभएको थियो भने अन्त्यमा सभाध्यक्ष तथा अध्यक्ष कैलाश के.सी. ले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।