


बनेपा – काभ्रे शिक्षा र समाजसेवामा सक्रिय भूमिका निभाउँदै आएकी समाजसेवी अनिला कायस्थलाई श्री बनेपा आधारभूत विद्यालयले विशेष सम्मान गरेको छ। विद्यालयले शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थी हितका कार्यक्रममा उनले पुर्याउँदै आएको योगदानको उच्च कदर गर्दै सम्मान गरेको हो।


कार्यक्रमका प्रमुख अतिथि बनेपा नगरपालिका नगरप्रमुख शान्ति रत्न शाक्यले कायस्थलाई सम्मान गर्दै विद्यालयको समग्र विकासमा समाजसेवी तथा सचेत नागरिकको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

समाजसेवामा निरन्तर सक्रिय अनिला कायस्थ “राष्ट्रिय सामाजिक सर्वोत्कृष्ट व्यक्तित्व सम्मान २०८२” बाट पनि सम्मानित भइसकेकी छन्। उनले शिक्षा, महिला सशक्तिकरण, बाल–बालिकाको हकहित, विपन्न परिवार सहायता लगायतका क्षेत्रमा निरन्तर कार्य गर्दै आएकी छन्। उनले विभिन्न अवसरमा विद्यालय तथा सामाजिक संस्थाहरूमार्फत स्टेशनरी तथा आर्थिक सहयोग प्रदान गर्दै आएका कारण स्थानीय समुदायमा उनको योगदान प्रशंसनीय बनेको छ।
कायस्थले विद्यालयको सम्मानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षा तथा सामाजिक अभियानको रूपमा सहयोग जारी रहने बताइन्। विद्यालय व्यवस्थापन समितिले यस प्रकारका प्रेरणादायी व्यक्तित्वलाई सम्मान गर्न पाउनु आफैंमा गर्वको विषय भएको बताएका छन्।



