
नमोबुद्ध ।
खेल पर्यटनमार्फत स्थानीय समृद्धिको सपना साकार पार्ने उद्देश्यका साथ काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा जिल्लाकै प्रतिष्ठित सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

सोनाम ल्होसारको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको विधिवत् उद्घाटन गरिएको हो ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारहरूको उपस्थितिमा उद्घाटन गरिएको उक्त प्रतियोगितामा २० वटा टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन नमोबुद्ध नगरपालिका वडा नं. १ का अध्यक्ष प्रेम लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अध्यक्ष लामा स्वयं प्रतियोगिताको व्यवस्थापनमा सक्रिय रहँदै आउनु भएको छ । उहाँले खेलकुदमार्फत पर्यटन प्रवर्द्धन, युवाबीच एकता र सामाजिक सद्भाव कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


प्रतियोगिताको प्रथम पुरस्कार राशी एक लाख पाँच हजार रुपैयाँ रहेको छ भने दोस्रो पुरस्कार ५५ हजार रुपैयाँ तोकिएको छ । आकर्षक पुरस्कारका कारण काठमाडौंसहित विभिन्न स्थानका बलिया टोलीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता आजदेखि सुरु भई आगामी २० गतेसम्म सञ्चालन हुनेछ ।
आयोजक मानेगाउँ नमोबुद्ध फुटबल क्लबका अध्यक्ष उत्तरध्वज तामाङले प्रतियोगितामा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघ–संस्था तथा खेलप्रेमीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले स्थानीय तह, समाजसेवी तथा खेलप्रेमीहरूको सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको र यो प्रतियोगिता दोस्रो संस्करण भएको जानकारी दिनुभयो । उद्घाटन कार्यक्रमको सभापतित्व पनि उहाँले नै गर्नुभएको थियो ।
क्लबका सचिव गणेश लामाले सञ्चालन गरेको कार्यक्रममा स्थानीय खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रतियोगितामा राष्ट्रिय खेलाडी आबद्ध क्लब तथा विभागीय टोलीका खेलाडीहरू समेत सहभागी छन् ।
उद्घाटन खेलमा धुलिखेल–११ ले आयोजक मानेगाउँ नमोबुद्ध फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्यो । उक्त खेलका म्यान अफ द म्याच अजित तामाङ घोषित भए र उनलाई जर्सी प्रदान गरिएको थियो ।
त्यस्तै दोस्रो खेलमा मण्डनदेउपुर नगरपालिका, हल्देछापले नमोबुद्धकै बिकेएचवाईएसलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । सो खेलका म्यान अफ द म्याच मण्डनदेउपुरका सन्देश लिम्बु घोषित भए ।
आयोजकका अनुसार प्रतियोगिताले युवाबीच एकता, भ्रातृत्व विकास गर्नुका साथै अनुशासन र खेलभावना अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।



